किन चिनियाँ दुतावासले यस्तो भन्यो....

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, ०९ : २१
किन चिनियाँ दुतावासले यस्तो भन्यो....

काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिकबारे चिनियाँ दूतावास आफ्नो धारणा प्रष्टयाएको छ । शुक्रबार दिउँसो स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो ।

सो झडप भएको घटनाबारे आफू जानकार रहेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । प्रहरीमाथि आक्रमणमा उत्रिएका ४ चिनियाँ नागरिकमाथि मुद्दा चलाउने तयारी भएपछि दूतावासले राती विज्ञप्ति जारी गरेर घटनाबारे जानकार रहेको उल्लेख गरेको हो । दुतावासले नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल गरिरहेको समेत जनाएको छ । 

नेपालमा रहेका चिनियाँहरूले यहाँको कानुनको पालना गर्नु पर्ने पक्षमा आफूहरू रहेको विज्ञप्तिमा उल्लेख छ । झडपमा परी महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र १ प्रहरी जवान घाइते भएका छन् । यस्तै, ४ जना चिनियाँ नागरिक पनि घाइते भएका छन् । लकडाउन उलङ्घन गरी निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।

प्रहरीले उनीहरूको भीडलाई तितरबितर पार्न खोज्दा उनीहरू प्रहरीमाथि नै जाइलागेका थिए । प्रदर्शन गर्न पुगेका सबै चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । स्वदेश फर्किन पाउनु पर्ने माग गर्दै सिंहदरबार अगाडि धर्ना दिएका नेपालमा रहेका केही चिनियाँ र प्रहरीबिच शुक्रबार झडप भएको थियो ।

शुक्रबार ३० जना भन्दा बढी चिनियाँ नागरिकले धर्ना दिएका थिए । प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा झडप भएको थियो । चीनले नेपालमा रहेका दुई सय भन्दा बढी आफ्ना नागरिकलाई बिहीबार स्वदेश लगेको थियो । तर जान नपाएकाहरुले चिनियाँ दूतावास र सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस