काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले शान्तिका अग्रदूत गौतमबुद्धले प्रतिपादन गर्नुभएको दर्शन, उपदेश र मार्गदर्शनले समग्र मानवजातिलाई सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।
बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले बुद्ध नेपाली माटोमा जन्मिएर विश्वभर आफ्नो ज्ञानको उज्यालो फैलाउन सफल दार्शनिक, विचारक र चिन्तक रहेको स्पष्ट पार्नुभएको छ । विश्व शान्तिका प्रणेता र अर्बौं मानिसका लागि सम्मानित व्यक्तित्व वन्नु एवं नेपालबाट विश्वभर शान्तिको सन्देश जान सक्नु हाम्रा लागि गौरवको विषय भएको उहाँको भनाइ छ
नेपाललाई विश्वमा चिनाउन पनि बुद्ध र उहाँको दर्शनको विशेष भूमिका रहेको उल्लेख गर्दै सभामुख सापकोटाले भन्नुभएको छ, “बुद्धको त्याग, तपस्या, ध्यान, साधना र मार्गदर्शनको पालनाले नेपालीको एकत्व र मनोबल सधैँ उचो राखिराख्न मद्दत पुग्ने विश्वास लिएको छु ।”
बुद्धलाई सचेततापूर्वक ब्यूँझेकोे, जीवन जगत्का विषयमा जागरुक, आफैँले आफैँलाई बुझेको अर्थमा लिने गरिएको उल्लेख गर्दै सभामुखले उहाँका वैज्ञानिक र व्यावहारिक ज्ञानलाई जीवन पद्धतिमा आत्मसात् गर्न सकेमा यसले जीवनयापनलाई थप सजिलो पार्ने बताउनुभएको छ । बुद्धका सर्वकालीक पञ्चशील सिद्धान्तको पालनाले आजको अप्ठ्यारो परिस्थितिमा समेत शान्ति र अमनचयन कायम गर्न सहज हुने उहाँको विश्वास छ ।
त्यसैगरी सभामुख सापकोटाले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कीर्तिपुरले शिवशरण महर्जन जस्ता उम्मेदवार पाउनु ठुलो अवसर हो : अग्नि सापकोटा
ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैन: अग्नि सापकोटा
प्रचण्ड आज विश्वको रंगमञ्चमा असाधारण राजनीतिक ब्राण्ड बन्नुभएको छ : अग्निप्रसाद सापकोटा
अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको फैसला आज नआउने
लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्व सभामुख सापकोटा
गठबन्धन दलहरू भित्रको विवादले सरकारलाई असर गर्दैन : अग्नि सापकोटा