लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्व सभामुख सापकोटा

रासस

सोमबार, ०३ असार २०८१, १३ : ५९
लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्व सभामुख सापकोटा

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताएका छन् । उनले लोकतन्त्रको कुरा सबैले गर्दै आए पनि साँचो अर्थमा त्यसको स्थापित मूल्य, मान्यता र आदर्शप्रति कोही इमान्दार नदेखिएको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता सापकोटाले भने, ‘लोकतान्त्रिक आचरणमा देखिनुपर्नेमा त्यसमा कमी छ । विचार, व्यवहार र सिद्धान्तमा बहस हुनुपर्छ । सही, गलत, हुने वा नहुने भन्नेमै पनि विचित्र स्थिति छ । प्रियतावादको दबदबा छ ।’

माओवादी जनयुद्धमा भूमिगतरुपमा राजनीतिक फाँटको जिम्मेवारी सम्हाल्दै तत्कालीन वार्ता टोली सदस्यसमेत रहनुभएका सापकोटा विगतमा सञ्चार तथा सूचना प्रविधि र वन तथा वातावरणमन्त्री भई कार्य सम्पादन समेत गरे। 

प्रस्तुत छ, कानुन निर्माण र समसामयिक विषयमा केन्द्रित रही माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासँग समसामयिक विषयमा केन्द्रित रही गरिएको कुराकानीको सम्पादित अंश :

अहिले मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईँले कसरी हेर्नुभएको छ ?

संसद्मा एउटै पार्टीको मात्र बहुमत छैन, त्यसको अनिवार्य परिणति भनेको गठबन्धन सरकार हो । समीकरण फेरिरहेको छ,तर यो जटिलताका बीचबाट पनि गठबन्धनको अभ्यास जारी छ । गठबन्धन संस्कृतिमा हामी धेरै अभ्यस्त छैनौँ । कतिपय राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबैलाई सन्तुलित ढङ्गले लैजान सक्नुपर्छ । कतिपय अवस्थामा पार्टीका स्वार्थ टकराउँदा अस्थिरजस्तो हुन्छ । अर्कातर्फ मुलुकमा अर्थतन्त्रको विषम जटिलताको चुनौतीबीच पनि सरकार ठिकै ढङ्गबाट अघि बढिरहेको छ ।

राजनीतिक दल र सांसदको मुख्य जिम्मेवारी विधि निर्माणमा कार्यसम्पादन कमजोर रह्यो भन्ने आरोपलाई कसरी लिनुहुन्छ ?

संसद्को मुख्य काम गुणात्मक विधि निर्माण हो । तत्कालीन परिस्थितिमा राष्ट्रले निर्धारण गरेको चेतनामा निर्भर रही कानुन तर्जुमा हुन्छ । त्यो आफैँ प्राप्त नभई निरन्तरको सचेत प्रयत्नबाट हुने विषय हो । अहिले संसद्ले प्रभावकारी काम गर्न सकेको छैन । संसद् जीवन्त, गतिशील, जनमुखी हुन सकेन । 

राजनीतिक परिवर्तनको सर्वाधिक महत्त्वपूर्ण उपलब्धि भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख राज्य व्यवस्थालाई लिनुपर्छ । संविधानमा लिपिबद्ध गरिएका विचारधारा, मान्यता र आदर्श स्थापित गर्न राजनीतिक दलभित्र लोकतान्त्रिक आचरण परिस्कृत हुनुपर्नेमा भएको छैन । त्यसको प्रभावका रूपमा कानुन निर्माणमा निकै ढिलो र कमजोरी भएको छ । सदनमा स्तरीय छलफल हुन सकेन । संसद् भनेको देशको आत्मा हो । 

संसद्ले देशलाई दिशानिर्देश गर्दै सुशासनका लागि शक्तिशाली सन्देश दिनुपर्छ । संसद्ले बहुआयामिक भूमिका खेल्नुपर्छ । अहिले सदनतिरको बहस हेर्दा आशा जगाउने र जनभावना समेट्ने खाले नभई प्रतिक्रियात्मक मात्र छ । सदनको हालको स्थितिलाई बदल्न प्रधानमन्त्री, सभामुख र प्रतिपक्षले यो थलोलाई जीवन्त र जनमुखी बनाउन भूमिका खेल्नुपर्छ ।

अहिले भइरहेको संसदीय प्रक्रियागत झन्झटिलो बहस र खर्चनु परेको समय लागतअनुरूप परिणाम दिन सकेन भनिएको छ, यसमा विगतका अनुभवका आधारमा टिप्पणी गर्नुहुन्छ ?

संविधान संशोधनका कुरा उठाइरहँदा पहिलो कुरा अभ्यास नै राम्रो भएको छैन । छलफलका निष्कर्षलाई कार्यान्वयन गर्न सकिने ढङ्गबाट सदनमा बहस हुनुपर्छ । 

त्यसमा अलि बढी ध्यान दिनुपर्छ । हाम्रा छलफल र बहस प्रक्रियामुखीभन्दा बढी नतिजामुखी हुनुपर्छ । त्यसका लागि सबै राजनीतिक दलबीच राष्ट्रिय मुद्दामा न्यूनतम् साझा धारणा र दृष्टिकोण हुनुपर्छ भन्ने लाग्छ ।

सभामुखजस्तो सम्माननीय पदमा पुगेर काम गरिसकेको व्यक्ति तपाईँ फेरि पार्टीमा फर्केर काम गर्न असजिलो भएको छैन ?

यो निकै महत्त्वपूर्ण प्रश्न छ, मैले यो प्रश्नमा धेरै गम्भीरतापूर्वक सोचविचार पनि गरेको थिएँ । फेरि पनि राष्ट्रलाई योगदान गर्न अलग भएर कि दलमै आबद्धता हुने भन्ने विषयमा दलभित्र भएको छलफल र बहसपछि यो निर्णयमा पुगेँ । हरेक मानिसका आफ्नै मानक हुन्छन् । मुलुकका तीनमध्ये एउटा अङ्गको नेतृत्व गरेँ । जीवन रहेसम्म त्यो प्राप्त अवसरका सम्मान गर्ने विषयमा राम्रै सोचेको छु । साझा दृष्टिकोण र वैचारिक विचारलाई प्रभावकारी बनाउन बेग्लै चिन्तन मनन गर्नेभन्दा दलमा रहेर बढी भूमिका हुन्छ भन्ने लाग्यो । मेरो विवेक र चेतनाले त्यो बाटोबाट राष्ट्रका लागि बढी योगदान दिन सकिन्छ भन्ने लागेको छ ।

हरेक दलमा जस्तै मेरै पार्टीमा पनि समस्या छ । पार्टीको आधिकारिक पोजिसनसहित छलफल गर्ने कुरा प्रभावकारी होला कि भनेर हो । सभामुख भएपछि फेरि निर्वाचनमा गइन । विगतमा पार्टीमा एउटा समूह राजकीय काममा जाने अर्को टोली दलमा काम गर्ने भन्ने थियो । त्यो छलफल त हराएकोजस्तो भएको छ । मैले एउटा दार्शनिकले भनेको कुरा सम्झिएँ–आफैँ नेता बनाउनेभन्दा अरूलाई नेता बनाउने ठूलो कुराका आधारमा एउटा प्रयोग गरेको हुँ । पार्टीलाई रूपान्तरण गर्न विचारको संश्लेषण आवश्यक छ । अहिले संसारभर नै विचारको बहस हराएर गएको छ । त्यो बहसलाई अघि बढाउन र ऊर्जा प्रवाह गर्दै प्रकाश दिलाउन पार्टीमा फर्केर काम गर्ने निर्णय गरेको हुँ ।

विगतमा मुलुककै ठूलो दल भइसकेको तथा राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको दलले फेरि पुरानै ढर्राका राजनीतिक अङ्क गणितमा लाग्नुपर्दा कस्तो अनुभूति हुन्छ ?

अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ । हाम्रो पार्टीले भर्खरै विधान सम्मेलन गर्‍यो । विशेष महाधिवेशनतर्फ जानुपर्छ भनेर बहस उठिरहेको छ । तपाईँकै भनाइअनुसार राष्ट्रिय राजनीतिमा सङ्ख्यात्मक हिसाबले पार्टीको नेतृत्वदायी भूमिका कमजोर देखिएको छ । विगतमा विचारको निकै माथिबाट संश्लेषण गरी महान् अग्रगामी छलाङ मारियो ।

हामीले २१औँ शताब्दीमा जनवादको विकास भनेका थियौँ, तर पछिल्ला दिनमा त्यसलाई निरन्तरता दिन सकेका छैनौँ । फेरि अब विचारको संश्लेषण अनिवार्य भएको छ । पार्टीले विचारको बहसलाई सघन र घनिभूत बनाउँदैछ । त्यो महान् बहसको प्रक्रियाबाट विशेष महाधिवेशनमार्फत विचारको संश्लेषणपछि फेरि पहलकदमी लिन सकिन्छ । राजनीति भनेको कहिले रसातलमा पुगेको जस्तो त कहिले दिग्विजय भएजस्तो हुन्छ । राजनीतिमा उतारचढाव, घुम्ती र मोड भइरहन्छ । २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत आएकामा अहिले ३२ सिट छ ।

फेरि जनताले उठाएको प्रश्नको एक–एक उत्तर दिँदै समयानुकूल वैचारिक, राजनीतिक, साङ्गठानिक, सांस्कृतिक पुनर्गठनका साथ विज्ञान र प्रविधिको प्रयोग र रूपान्तरण गर्दै अघि बढ्नुपर्छ । युवापुस्तालाई प्रशिक्षित र सङ्गठित गर्न सकियो भने अहिले भुत्तेजस्तो भएको चेतना प्रवाहमा चम्काउन सकिन्छ । फेरि आश्चर्य ढङ्गले पहलकदमी लिन सक्छौँ । अहिले जनतामा डगमगाउन खोजेको जनविश्वासलाई सबल र सुदृढ तुल्याएर अघि जान सकिन्छ, जानुपर्छ । देशको भूराजनीतिक स्थितिका आधारमा जसरी राजनीति अघि बढ्दैछ, निर्माण भइरहेको विश्व दृष्टिकोणका आधारमा राष्ट्रिय दृष्टिकोण बनाएर अघि बढेपछि जनतामा देखिएको चिन्ता र निराशा हटाउन सकिन्छ । अहिलेको उकुसमुकुसप्रति जनताबाट उठेको प्रश्नको हामीले उत्तर दिनपर्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

अहिले नयाँ पुस्तामा अतिरञ्जितरुपमा विदेश जाने महत्त्वाकाङ्क्षा बढाइदिएको छ । विदेशमा जोखिम काममा जाँदा मर्ने र मारिने कुरा शतप्रतिशत सुनिश्चित छ, तर उ नगई छाड्दिन भन्छ र जान्छ । किन त्यस्तो भइरहेको छ भन्दा अतिरञ्जित महत्त्वाकाङ्क्षा जगाइदिएको छ, समाजले । एकथरि रोजगारीका लागि जाने अर्को थरी सम्पूर्णरुपले सेवा सुविधा प्राप्त गरिरहेको पनि विदेश पलायन भइरहेको छ ।

अध्ययनका लागि विदेश गएका सीप सिकेर स्वदेश फर्कने वातावरण बनाउनुपर्छ । आकर्षण बढाउनुपर्छ । नेपाली बौद्धिक मस्तिष्क बाहिर खर्च भइरहेको छ, त्यसलाई देशमै प्रयोग गर्ने वातावरण बनाउनेमा सबै राजनीतिक दल तथा तह र तप्का लाग्नुपर्छ । देशप्रति चिन्ता र चिन्तन गर्न सबैलाई म अपिल गर्छु कि, सबै नेपालीलाई स्वदेशमै बस्ने वातावरण बनाउन लागि परौँ ।

 

प्रतिक्रिया दिनुहोस