मनोज पुन गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए

बुधबार, ०९ फागुन २०७४, ०९ : ४९
मनोज पुन गुण्डागर्दीको दुनियाँमा त्यसरी उदाए, अनि यसरी अस्ताए

राजेश भण्डारी
काठमाडौं । मनोज पुन भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाइएका गुण्डा हुन् । असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रुपन्देहीका ब्यवसायीलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरुले गोली हानेको हो, तिमीहरु पनि बिचार गर्नु !’ भनेर फोन गरे । धम्की दिए ।

२०७३ पुस पहिलो साता रुपन्देहीका दुर्गा तिवारी र गत पुस २१ गते रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि उनी केन्द्रिय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचिमा थिए ।
यसैमा बुधवार बिहान मनोज र उनका सहयोगी सोम आलेलाई प्रहरीले रुपन्देहीको देवदहमा इन्काउन्टर गरेको समाचार आयो ।

प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके मनोज पुन

प्रहरी इन्काउन्टरमा मारिएका मनोजले शरद गौचन र बुटवलका बसन्त पौडेलमाथि गोली प्रहार भएपछि बुटवल र पोखराका ब्यापारीहरुलाई फोन गरेर धम्क्याईरहन्थे, जसका कारण उनी करोडौं उठाउन सफल भएका थिए । यद्यपी गौचनको हत्यामा मनोजको संलग्नता खुल्न सकेको छैन् ।  

मनोज पुन रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीको सामान्य परिवारमा जन्मिएका थिए । स्कुलमा खासै नपढ्ने, धेरैजसो कक्षा नछिर्ने पुन बच्चादेखी नै सुरो स्वभाका थिए । ‘मगरको छोरो सुरो छ’ भन्ने बाल्यकालको सामान्य परिचय अहिले फेरिएका छ । उनी भैरहवाबाट उदाएर राजधानी शहर काठमाडौंमा धावा बोल्ने ‘गुण्डा नाईके’ भएका थिए ।

भैरहवामा युवासंघका अध्यक्षमाथि गोली प्रहार हुनासाथ रुपन्देहीका तत्कालीन एसपी रवीन्द्र धानुकले तत्कालीन डीआईजी बमबहादुर भण्डारीलाई फोन गरेर भनेका थिए, ‘मनोज पुन भन्ने केटो खतरनाक भएर निस्केको छ, यसलाई खोरमा हाल्न नसके हामीले पछिसम्म दुःख पाउँछौं ।’

पछिल्लो समय एकाएक प्रहरीको टाउको दुःखाईकोे बनेका गुण्डा नाईक मनोज परिवारको एक्लो छोरो हुन् । खैरेनीमा उनको दुईतले पक्की घर छ, जहाँ उनको श्रीमती, एक छोरी र बावुआमा बस्छन् ।
खैरेनी स्कुलमा ८ कक्षामा पढ्दा नै रेष्टिगेट भएका मनोजले देवदह उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेका थिए । पढाईमा खासै रुची नभएका मनोज शालिकराम चौलागाईको संगतले गुण्डागर्दीमा लागेको उनीसँगै पढेका एक क्लासमेटले बताए ।

शालिकराम वुटवल र भैहरवा क्षेत्रमा प्लटिङ गर्नेहरुसँग पैसा उठाउँथे, पुनले उनलाई साथ दिए । प्लटिङ गर्नेहरुले पैसा नदिएमा चौलागाईं र पुन मिलेर प्लटिङ क्षेत्रका बिजुलीको पोल उखेलेर फाल्थे ।

नेपाल–भारत सीमानाको धकधइ धन्ने ठाउँमा बंगलादेश पठाउने गोरुको कारोवार हुन्छ । मनोज र शालिकरामको समूहले त्यहाँबाट हरेक हप्ता कमिसन लिन्थे । करिब पाँच बर्ष मनोजले शालिकरामलाई साथ दिए । पछि शालिक हतियार काण्डमा जेल परे । त्यसपछि शालिकको धन्दा मनोजले सम्हाल्न थालेका हुन् । यसरी खैरेनी–सुनवलबाट शुरु भएको गुण्डागर्दी बुटवल बजारभरी फैलियो ।

उमेरले करिब २८ पुगेका पुन युवासंघ रुपेन्देही क्षेत्र नम्बर–१ को कोषाध्यक्ष भएर काम गरे । युवासंघको आवरणमा गुण्डागर्दी गरेर असुली धन्दा चलाएपछि दुर्गा तिवारीले उनलाई कारबाही गरेका थिए । त्यहि रिसीवी साँध्न उनले पहिलो पटक २०७३ असोजमा तिवारीमाथि गोली प्रहार गरेका थिए ।
‘त्यतिवेला उनका सहयोगीले चलाएको हतियार पड्किएन्’ दुर्गा तिवारी हत्याकाण्डलाई नजिकबाट नियालेका एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसपछि पुलिस आक्रामक भएर लाग्यो, उसका समूहका सदस्यहरु भटाभट समातिन थालेपछि मनोजले रुपन्देही छाड्यो ।’

प्रहरी स्रोतका अनुसार २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गालाई मार्नुभन्दा करिब ९ महिनादेखी मनोज भारतमा बस्न थालेका थिए । दुर्गाको हत्या गरेपछि उनले आफु मलेशियामा बसेको दावी गर्दै भैरहवा र बुटवलतिर धम्क्याएर असुल्ने काम तीब्र रुपमा शुरु गरेका थिए ।

काडमाडौंलाई बेस बनाएर गुण्डागर्दी गर्न नभ्याएपनि २०७३ चैत २९ गते अर्का गुण्डा नाईके दावा लामालाई काठमाडौंको गौरिघाटमा गोली हानेर उनले काठमाडौंको गुण्डाराजमाथि धावा बोलेका थिए । २०७३ चैत २९ गते काठमाडौंको कुमारीगालमा गुण्डा नाईके दावा लामालाई गोली हान्नासाथ काठमाडौं प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिने ‘लोप्साङ लामा’ मनोज पुनको ‘दायाँ हात’ भएको बताईएको छ । तिनै लोप्साङ हुन् जसले गौचनलाई गोली लागेको केही मिनेटमा काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकलाई फोन गरेर ‘गोली हान्ने मै हुँ’ भनेका थिए ।

सिन्धुपाल्चोक स्थायी घर भएका लोप्साङ लामा मनोज पुनको दायाँ हाते ब्याट्म्यान थिए, जसले २०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई मनोज पुनको निर्देशनमा गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यतिवेला रुपन्देही प्रहरीले मनोेज पुनको निर्देशनमा लोप्साङले गोली हानेको निष्कर्ष निकाल्दै अहिले पनि दुवैलाई खोजिरहेको थियो । उनीहरु दुवैजना भारतमा लुकेर बसिहरेका थिए ।

दुर्गा तिवारी पछि काठमाडौंको गौरिघाटस्थित दावा लामामाथि गोली प्रहार भएको केही मिनेटमै लोप्साङले अन्नोन नम्बरबाट तत्कालीन एसएसपी छविलाल जोशिलाई फोन गरेर भने, ‘दावालाई गोली हान्ने मै हुँ ।’
लोप्साङ त्यतिन्जेल मनोज पुनकै ग्याङ्गको सदस्य थिए । ‘अहिले लोप्साङ मनोजको ग्याङ्गमा छकी छैन भन्नेबारे बुझिरहेका छौं ?’ पछिल्ला तीनओटा हत्याकाण्डलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृत भन्छन्, ‘आकांक्षा बढेपछि लोप्साङले मनोजको समूह छाडेर अर्कै समूह निर्माण गरिसकेको हुनसक्छ ।’  

दावामाथि गोली हान्नुको अन्तर्य
मनोज पुनले गुण्डा नाईके दावा लामामाथि गोली हानेर काठमाडौंमा अरुको दिन सकिएको संकेत दिएका थिए । ‘दावालाई मार्ने नियतले नै हानिएको थियो’ महानगरीय अपराध महाशाखाका एक अधिकृत भन्छन्, ‘तर संयोगले उनी बाँचे ।’

पछिल्लो समय काठमाडौंमा चम्किएका गुण्डा हुन् दावा । दावाको हत्या गरेर काठमाडौं आफ्नो ग्रिपमा लिने पुनको योजना रहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

गुणगर्दीको दुनियाँलाई नजिकबाट नियालेका एक प्रहरी अधिकृतका अनुसार दावालाई गोली प्रहार गरेपछि अर्का गुण्डा नाईके मिलन चक्रेलाई मनोजले धम्क्याएका थिए । मनोजको धम्कीपछि चक्रे उनलाई पैसा बुझाउन नेपाल–भारत सीमानामा पुगेको बताईएको छ । त्यसपछि उनी केही महिना मलेशियामा लुकेर बसेका थिए ।

‘गौचन हत्यापछि मिलन चक्रेमाथि थ्रेट बढेको थियो’ लामो समय अपराध अनुसन्धानमा काम गरेका एक डिआईजी भन्छन्, ‘पैसा दिँदा पनि मनोजले शुट गर्नसक्ने डरले उनी भागेको हुनसक्छ ।’
भारतमा बस्दा मनोजले अन्डरवल्र्ड डनहरुसँग राम्रो सम्वन्ध बनाईसकेका थिए । छोटा राजन वा दाउद ईब्राहिम कसको निकटमा रहेको मनोजले काम गरिरहेका छन् भन्नेबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको थियो । पछिल्लो समय ‘एक नम्बर गुण्डा’को रुपमा प्रहरीको ‘मोस्ट वाण्टेड’ सुचिमा रहेका पुन इन्काउन्टरमा मारिएसँगै ब्यक्ति हत्याको एउटा श्रृंखलाको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस