नेकपा माओवादी केन्द्र पुनर्गठन गरी अघि बढ्न अपिल : गोपाल किराती

बुधबार, ०९ फागुन २०७४, ०९ : ४३
नेकपा माओवादी केन्द्र पुनर्गठन गरी अघि बढ्न अपिल : गोपाल किराती

नेकपा एमालेसँगको एकता घोषणापछि नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टीबाट ‘विद्रोह’ गरेका छन् । माओवादी केन्द्र पुनर्गठनबीच एकताको विपक्षमा रहँदै आएका नेता गोपाल किरातीले मंगलवार एक प्रेस विज्ञप्ती निकालेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् ।

‘महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनीद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु’, उनले भनेका छन् ।

नेता किरातीले पार्टीको सैद्धान्तिक विचारधारालाई निर्णायक तहमा स्थापित गर्न पनि अपिल गरेका छन्। ‘मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवम् पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा माओवादी केन्द्र पुनर्गठन गरी अघि बढ्न बिशेष आव्हान गर्दछु’, उनले भनेका छन् ।

किरातीले यसअघिबाटै एमालेसँगको एकतामा असहमति जनाउँदै आएका थिए । पुर्वी नेपालमा सुरुमा किरात वर्कर्स नामको सशस्त्र समूह बनाएर भूमिगत भएका किराती २०५८ सालदेखि पार्टीलाई माओवादीमा समाहित गरेर राष्ट्रिय राजनीतिमा सक्रिय छन् ।

एकता प्रक्रियामा असहमति राख्दै नेता किरँतीले केही समयपहिले आठौँ महाधिवेशन आयोजक समिति समेत गठन गरेका थिए।

‘मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु’, विज्ञप्तिमा भनिएको छ।

एमालेसँगको एकता प्रक्रियामा असहमति जनाउँदै यसअघि नै माओवादी नेताहरु विश्वभक्त दुलाल ‘आहुति’, लोकेन्द्र विष्ट, बलराम तिमिल्सिना, जागृत रायमाझी लगायतले छुट्टै अभियान सञ्चालन गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस