उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण

मंगलबार, ०९ बैशाख २०७७, १६ : ५४
उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण

काठमाडौं । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि  भएको हो । मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको डा. देवकोटाले जानकारी दिए । उनका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएको छ । ती मध्ये केहीको धरानस्थित कोसी अञ्चल अस्पताल र कोहीको केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको छ ।

योसँगै उदयपुरमा कोरोनासंक्रमितको संख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको संख्या ३२ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस