काठमाडौँ । कोभिड–१९ महामारीले ठूला सहर लकडाउन भएपछि संसारभर नै वायुको गुणस्तरमा उल्लेख्य सुधार आएको पाइएको छ । कोभिड–१९ का कारण संसारका आधा मानिस घरभित्र बस्न बाध्य छन् । सवारी साधन, कलकारखाना, भट्टीलगायत सबै बन्द छन् । वायुको गुणस्तरमा सुधार त्यसैको प्रतिफल हो ।
लकडाउनले वातावरणमा आएको परिवर्तनबारे विस्तृत वैज्ञानिक अध्ययन गर्न बाँकी नै छ । नेपालस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका तीन जना तथा जर्मनी र अस्ट्रेलियाका तीन जना अनुसन्धानकर्ताले गरेको अनुसन्धानले पनि लकडाउनपछि सधैं व्यस्त रहने सहरमा वायु प्रदूषणको मात्रा उल्लेख्य घटेको देखाएको छ । डा। अशेश्वरमान श्रेष्ठ, डा. उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा.सुरज भट्टराई, हान ट्रान र डा. महेश्वर रूपाखेतीको संयुक्त टोलीले ६ वटै महादेशका ३५ देशका ४० वटा सहरको वायु प्रदूषणको अवस्था अनुसन्धान गरेका हुन् । उनीहरूको अनुसन्धान ‘अर्थ आर्जिभ’ जर्नलमा प्रि–प्रिन्ट ९अन्तिम प्रतिवेदनअघिको निष्कर्ष० भर्खरै प्रकाशित भएको छ । अन्तिम प्रतिवेदन सार्वजनिक हुन बाँकी नै छ ।
नेपालका अनुसन्धान संस्था र विश्वविद्यालयहरू अलमलमा परिरहेका बेला उनीहरूले नेपालबाटै विश्वका सहरहरूको प्रदूषण अध्ययन गर्ने अग्रसरता देखाएका हुन् । अनुसन्धानमा संलग्न नेपालस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक डा. उत्तमबाबु श्रेष्ठले भने, ‘नेपालमै बसेर प्रविधि प्रयोग गर्दै विश्वका सहररूको वायुको गुणस्तर हेरौं न त भनेर लकडाउनको समयमा तीन साता अनुसन्धानमा जुटेका हौं ।’
नेपालस्थित ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका अनुसन्धानकर्ता डा। अशेश्वरमान श्रेष्ठका अनुसार यो अनुसन्धानमा सन् २०१९ को फेब्रुअरी र मार्च तथा यो वर्षको फेब्रुअरी र मार्चको वायु प्रदूषणको कारक मानिने धुलोका कण, कार्बनमोनो अक्साइड, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, ओजन गरी ६ प्रकारका रासायनिक तत्त्वको वायुमा भएको मात्राको तुलनात्मक अध्ययन गरिएको छ । ‘त्यससँगै एक सय दिनयताको प्रदूषणको अवस्था र लकडाउनले त्यसमा आएको फरक पनि विश्लेषण गरेका छौं,’ उनले भने ।
यसअघि भू–उपग्रहबाट प्राप्त हुने तस्बिरहरू विश्लेषण गरेर वायु प्रदूषण घटे–बढेको विश्लेषण हुने गरेकामा यो अनुसन्धानमा उनीहरूले ४० वटा सहरका सडकमा राखिएका प्रदूषण मापन गर्ने उपकरणले संकलन गरेको तथ्यांक प्रयोग गरेर निष्कर्ष निकालेका हुन् । ‘स्याटेलाइट तस्बिर आँखाले हेरेर गरेको विश्लेषणमा त्रुटि हुने सम्भावना हुन्छ,’ अनुसन्धानकर्ता निर्देशक डा। श्रेष्ठले भने, ‘हामीले ४० वटा सहरका सडकमा राखिएका प्रदूषण मापन गर्ने उपकरणले संकलन गरेको तथ्यांक प्रयोग गरेर अनुसन्धान गरेका हौं, सम्भवत यो धेरै सहरको वायु प्रदूषणको अवस्था हेरिएको पहिलो अध्ययन होला ।’
अस्ट्रेलियाको आरएमआईटी विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका रोशन शर्माका अनुसार ४० वटा सहरका वायु प्रदूषण मापन गर्ने ३ सय १ वटा स्टेसनबाट लिइएको तथ्यांकलाई विश्लेषण गरिएको छ । अनुसन्धानअनुसार आँखाले देख्न नसकिने धुलोका कण ९पीएम २।५० को मात्रा गत वर्षको फेब्रुअरीभन्दा अहिले १७ वटा सहरमा कम देखिएको छ । त्यही कण गत वर्षको मार्चमा भन्दा अहिलेको मार्चमा १४ वटा सहरमा कम देखिएको छ । ‘काठमाडौं, भियना, लन्डन, आम्सटर्डम, न्युयोर्क, सिड्नीजस्ता सहरमा धुलोको मात्रामा उल्लेख्य रूपमा कमी आएको छ,’ निर्देशक श्रेष्ठले भने ।
अनुसन्धानले गत फेब्रुअरीमा पीएम २.५ को मात्रा भियनामा ५७, पेरिसमा ५३, आम्सटर्डममा ४७.५, लन्डनमा ४५.६, दुबईमा ४५.२ प्रतिशतले घटेको देखाएको छ । मार्चमा न्युयोर्कमा ३७, सिड्नीमा ३५, अबुधाबीमा ३२.२, नान्जिङमा ३१, उलनबटोरमा २६ प्रतिशतले प्रदूषण घटेको छ । संसारकै प्रदूषित सहर भनेर चिनिएका बैंगलोर, बैंकक, बेइजिङ, दिल्ली, नान्जिङ, वुहान, उलनबटोरमा धुलोको मात्रा उल्लेख्य कम भएको तथ्यांक विश्लेषणबाट देखिन्छ । ती सहरहरूमा पीएम २.५ भन्दा ठूलो धुलोको कण ९पीएम १०० को मात्रामा पनि उलेख्य फरक आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस