चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले चितवनको सौराहामा आयोजना गरेको अन्तर्राष्ट्रिय भैँसीविज्ञहरुको सम्मेलन राष्ट्रिय भैँसी अनुसन्धान केन्द्र स्थापनामा जोड दिँदै सकिएको छ । आयोजक संस्थाले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सम्मेलनका निष्कर्ष सार्वजनिक गरेका हुन् ।
उत्कृष्ट वैज्ञानिक भेलाको रुपमा सम्मेलन निकै फलदायी भयो, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. आई. पी. ढकालले भन्नुभयो, सम्मेलनको आयोजक राष्ट्रको हैसियतले चार वर्षपछि एसियाली भैँसी महाधिवेशन आयोजनाको लागि प्रस्ताव पेश गर्नेछौँ । विश्वविद्यालयकी डीन डा. शारदा थपलियाले अनुसन्धानमा लगानी नगरिकन कुनै पनि देशमा विकास नभएको जानकारी दिनुभयो ।
नेपालमा कृषि तथा पशु क्षेत्रमा अनुसन्धानका लागि भएको खर्चको रेकर्ड नै छैन । यस्तो खर्च ज्यादै न्यून हुने गरेको सरोकारवालाको भनाइ छ । जापानमा देशको कुल ग्राहस्थ उत्पादनको पाँच प्रतिशतसम्म रकम अनुसन्धानमा खर्च गरिन्छ । भैँसीविज्ञहरुको सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र र त्यस अन्तर्गत शाखा अनुसन्धान केन्द्र स्थापना गर्ने पहिलो निष्कर्ष निकालेको छ ।
सम्मेलनको अर्को निष्कर्ष क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भैँसी अनुसन्धानमा संलग्न संस्था र विश्वविद्यालयबीच सशक्त साझेदारी एवं सहकार्यको विकास गर्ने भन्ने रहेको छ । यसैगरी सम्मेलनले गुणस्तरीय दूध उत्पादनको लागि एसियन मस्टाइटिस काउन्सिल स्थापना गर्ने निष्कर्ष निकालेको छ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, चीन, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, इटाली, अमेरिका र क्यानडाबाट एक सय ८० जना भैँसीविज्ञ सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस