सामाजिक संजालबाट कोरोना भाइरसबारे भ्रम फैलाउने एकजना पक्राउ

बुधबार, ०३ बैशाख २०७७, १० : ३०
सामाजिक संजालबाट कोरोना भाइरसबारे भ्रम फैलाउने एकजना पक्राउ

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरसबारे भ्रम फैलाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्गलबार पक्राउ गरेको हो । आचार्यलाई फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबुकमा पोष्ट गर्ने प्रेम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस