‘स्थानिय तहमा अझैं सम्म छैन स्वास्थ्यजन्य सामग्री’

विहीबार, २७ चैत्र २०७६, ०८ : ०४
‘स्थानिय तहमा अझैं सम्म छैन स्वास्थ्यजन्य सामग्री’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक मानिएको स्वास्थ्यजन्य सामग्रीहरू अझै स्थानीय तहका स्वास्थ्य संस्थाहरूको पहुँचमा पुग्न सकेको छैन । सरकारले स्वास्थ्यजन्य सामग्री खरिद गरेको बताए पनि जिल्लास्तर अस्पताल, स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा ती सामग्री पुगेको छैन ।

कोरोना महामारी नियन्त्रणका लागि स्थानीय तहको भूमिका महŒवपूर्ण मानिन्छ । स्थानीय सरकार मातहतका स्वास्थ्यका कर्मचारी र महिला स्वयंसेविका जोखिम मोलेर काम गरिरहँदा लकडाउन भएको दुई साता बितिसक्दा अत्यावश्यक सामग्रीसमेत पाउन नसकेको गुनासो गर्छन् । सरकारसँग पटकपटक माग गर्दा समेत स्थानीय तहले पर्याप्त मात्रामा स्वास्थ्यजन्य सामग्री पाउन नसकेको जनप्रतिनिधिको दुखेसो छ ।

मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्म ‘कोरोना संकट व्यवस्थापन केन्द्र’ ९सीसीएमसी० संरचनाको सञ्जाल निर्माण गरिएको छ । तर, वडास्तरसँग प्रदेश सरकारले समन्वय गरेको पाइएको छैन । तुलसीपुर उपमहानगरपालिका–६ वडाका जनप्रतिनिधि सुवास डिसीका अनुसार सरकारले स्थानीय तहमा पर्याप्त मात्रामा स्वास्थ्यजन्य सामग्री पठाउन सकेको छैन । उनले भने, ‘स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गर्दै छन् । हामीले पहल गरिरहेका छौं । तर, प्रदेश तथा केन्द्र सरकारको तर्फबाट न मास्क पर्याप्त आएको छ न त सेनिटाइजर नै ।’

सल्यान शारदा नगरपालिका नगरप्रमुख सुरेश अधिकारीले केन्द्र सरकारले कोभिड–१९ सन्दर्भमा आवश्यक समन्वय नगरेको गुनासो गरे । उनले भने, ‘केन्द्र सरकारले पीर्पीई पनि उपलब्ध गराएको छैन । यहाँ सहरी क्लिनिकसहित १२ वटा स्वास्थ्य संस्था छन् । सरकारले हामीलाई उपेक्षा गरेको महसुस गरेको छु ।’ शंकास्पद बिरामीको विवरण राख्ने र केन्द्र सरकारलाई उपलब्ध गराउने, कसैलाई लक्षण देखियो भने समुदायबाट अलग गरी क्वारेन्टाइनमा राख्नेलगायतका काम स्थानीय तहबाट हुँदै आएको छ ।

अहिले स्थानीय स्वास्थ्य संस्थामा मास्क, सेनिटाइजर, पीपीईको चरम अभाव छ । सिन्धुलीस्थित कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाका अनुसार मागअनुसार स्वास्थ्यजन्य सामग्रीहरू पु(याउन सकिएको छैन । देवकोटाले भनिन्, ‘सर्जिकल मास्क र पीपीईको निकै अभाव छ । दुःखसुख मिलाइरहेका छौं ।’ महिला स्वयंसेविका सुशीला केसीले भनिन्, ‘हामीलाई कोरोना भाइरसको सन्दर्भमा सरकारले खटाउने भनेको सुनें । तर, खोई न मास्क दिएको छ न त ग्लोब्स नै ।’ सरकारी तथ्यांकअनुसार देशभर ५३ हजार बढी महिला स्वयंसेविका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले स्वास्थ्यजन्य सामग्री प्रदेशस्तरमा पठाइएको बताए । उनले सबै प्रदेशमा स्वास्थ्य सामग्रीहरू आवश्यकताअनुसार पठाइएको जानकारी दिए । प्रदेशमा स्वास्थ्यजन्य सामग्री पुगे पनि स्थानीय स्वास्थ्य संस्थासम्म पुग्न सकेको छैन । यसैबीच, स्थानीय तहहरूले विदेशबाट फर्किएकाहरूको प्रभावकारी तवरबाट तथ्यांक अद्यावधिक नगरेको पाइएको छ । जसकारण ‘कन्ट्याक्ट ट्रेसिङ’ सुस्त गतिमा अघि बढेको छ । स्वास्थ्य मन्त्रालयले भने संक्रमितमध्ये सबैको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइसकेको जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस