- प्रकाश चापागाईं
उड्दै भुर्भुर लेख्न खोज्छु कविता फुर्दैन केही पनि
कोरोनासित थर्र काम्छ मुटु यो जुर्दैन सन्जीवनी
यस्तो सङ्कटकालको समय यो संसार आक्रान्त छ
मान्छेको इतिहास बाँच्छ कसरी दोसाँध दोसाँध छ
कैदी झैँ घरभित्र बाध्य मनुवा बस्दैछ चिन्ता लिँदै
केही छैन उपाय राम रमिता हेर्दैछ अत्तालिँदै
लाखौँलाख पुगेछ सङ्क्रमितको बढ्दैछ संख्या अझै
घट्ने छाँटछ सून्य मृत्युदर झन् चढ्दैछ आकासिँदै
यो सङ्गीन कठोर यो समयमा मेरो भने देशमा
छन् उत्साहित राज्यका प्रमुखनैँ नेत्रित्वको भेषमा
बाँड्ने राहत नाममा अरबको भित्र्याउँदै ओखती
खाने दाउ प्रपन्चमा रुमलिने धिक्कार त्यो जिन्दगी
मान्छे मर्न निमित्त जन्मघरको खोज्दैछ माटो छुन
आफन्ती परिवारकासँग बसी रोएर चिच्याउन
ढोका बन्द गरेर नागरिकको सन्ताप के हेर्दछस् ?
तेरो द्वेध चरित्रले जगतको उत्थान के गर्दछस् ?
तेरो अन्तिम लक्ष देश ढुकुटी रित्याउँने हो भने
तेरो अन्तिम चाहना मुलुकनैँ सिद्ध्याउँने हो भने
नाडीभित्र अजेय शक्ति छ अझै कात्रो लिई आउँछु
तेरा कर्तुतका बिरुद्ध नगरा बोकेर घन्काउँछु l
प्रतिक्रिया दिनुहोस