भरतपुरमा नमुना प्राविधिक शिक्षालयको खाँचो छ : दाहाल

आइतबार, ०६ फागुन २०७४, १६ : १८
भरतपुरमा नमुना प्राविधिक शिक्षालयको खाँचो छ : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा नमुना प्राविधिक शिक्षालयको आवश्यकता रहेको बताउनु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत भरतपुर अस्पताल हाताभित्र संचालित स्कुल अफ हेल्थ साइन्स भरतपुरको आइतबार अवलोकन गरेपछि उहाँले यस्तो बताउनु भएको हो ।

महानगर प्रमुख दाहालले भरतपुरमा तीन नम्बर प्रदेशको नमुना पोलिटेक्निक बनाउन आवश्यक पहल गर्ने बताउनु भयो । उहाँले यसका लागि जग्गाको समस्या हल गरिने बताउनु भयो । यसैगरी उहाँले स्कुल अफ हेल्थ साइन्स भरतपुरमा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासका क्रममा भोग्नु परेका समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

स्कुल अफ हेल्थ साइन्सलाई गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न निर्देशन दिँदै महानगर प्रमुख दाहालले सबै प्रकारका सिपमूलक र डिप्लोमा तहका कक्षाहरू संचालन गर्न सुझाव दिनुभयो । उहाँले त्यसका लागि सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताउनु भयो ।

महानगर प्रमुखले अत्याधुनिक प्रयोगशाला, ईलाइबे्ररी र कक्षा कोठाहरूको निरीक्षण गर्नु भएको थियो । निरीक्षण कार्यमा महानगर उपप्रमुख पार्वती शाह, १० नम्बरका वडा अध्यक्ष अरूण पीडित भण्डारी र महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीको समेत सहभागिता रहेको थियो ।

उक्त अवसरमा स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्राचार्य अच्यूतराज दाहालले स्कुल अफ हेल्थ साइन्स भरतपुरलाई तीन नम्बर प्रदेशको नमुना पोलिटेक्निक इन्स्टिच्यूट बनाउनु पर्ने सुझाव दिनु भएको थियो । स्कुलले सात वटा शैक्षिक कार्यक्रम संचालन गरिरहेको जानकारी दिँदै उहाँले कम्तीमा पाँच हजार विद्यार्थीले पठनपाठन गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस