काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल स्वास्थ्य खरिद प्रकरणमा जोडिएका छन् । बालुवाटारमा बसेर प्रधानमन्त्री ओलीको छायाँ शासकका रुपमा हैसियत देखाईरहेका रिमाल पछिल्ला दिनमा अनेक काण्डमा मुछिन थालेका छन् ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद प्रकरणमा भएको भनिएको अनियमितता प्रकरणमा पनि रिमाल अहिले जोडिन आईपुगेका हुन् ।
उनी सहित यो काण्डमा उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ, हिमालयन हवाइट हाउसका सञ्चालक युवराज शर्मा लगायत यो प्रकरणमा जोडिएको उच्च स्रोतको भनाई छ ।
उनीहरुले बिरामी अवस्थामा रहेका प्रधानमन्त्री ओलीलाई समेत गुमराहमा राखेर कमिसनका लागि उपकरण खरिदको जिम्मा ‘ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि’ (ओबिसिआई) लाई दिएको खुलेको छ । अन्तराष्ट्रिय बजारमा प्रचलित मूल्य भन्दा कतिपय मेडिकल सामग्रीहरु ४८ प्रतिशतसम्म बढी मूल्य तिरेर खरिद गरिएपछि अहिले उपकरण खरिदमा अनियमितता भएको आशंका गरिएको छ ।
कोरोनाबाट जोगिनका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकारले पहिलो पटक माघ तेश्रो साता नै प्रक्रिया अगाडी बढाउने तयारी थालेको थियो । त्यही अनुरुप पहिलो पटक माघ २५ मा बोलपत्र आह्रवान गरेको थियो । त्यसबेला परेका १९ कम्पनीको कोटेसन लाई थन्काएर बालुवाटार देखि स्वास्थ्य मन्त्रालय सम्मको सेटिङमा अनेक प्रयास गरेर ओम्नीलाई जिम्मा दिइएको थियो ।
पछिल्लो पटक स्वास्थ्य मन्त्रालयले सचिव स्तरको निर्णयका आधारमा २०७६ चैत ७ मा आपतकालिन खरिद प्रक्रिया अनुसार प्रतिस्पर्धा र मितब्ययतिताका आधारमा स्वास्थ्य उपकरण खरिद अघि बढाउने निर्णय गरेको थियो । त्यही अनुसार मन्त्रालयको चलानी नम्वर ४२३ मा खरिद ब्यवस्थापन सम्बन्धी निर्देशन जारी समेत भएको थियो । तर त्यसलाई पनि पन्छाएर फेरि चैत १३ मा तीन घण्टामा पुन बोलपत्र आह्रवान गरेर कोटेशनमा सामानको दरभाउ कम बोलेकालाई समेत पाखा लगाएर महँगो दररेटमा सामान ल्याउने गरी ओम्नीलाई जिम्मा दिईएको थियो । यसको तयारी भने फागुन १८ पछि शुरु भएको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले आफ्नो मृगौला पून प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन जानु अघिल्लो दिन अर्थात फागुन १८ गते मन्त्रिपरिषद्वाट कोरोना रोकथाम तयारी र नियन्त्रणका लागि काम गर्ने गरी ८ जना मन्त्री समेत रहेको उच्चस्तरीय समिति बनाएको थियो ।
त्यसको संयोजकमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई जिम्मा दिने निर्णय भएको थियो । त्यसपछि नै मेडिकल उपकरण खरिद प्रक्रियामा संलग्नहरुले आफनो चलखेल अगाडी बढाएका थिए । बालुवाटार स्रोतका अनुसार, ओम्नी टेकका तुलहरीसँग प्रधानमन्त्रीका आइटी विज्ञ अलि असगरको सम्बन्ध पहिले देखि नै राम्रो थियो । असगर मार्फत प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको पनि सम्वन्ध राम्रो थियो । मुख्य सचिवसँग पनि तुलहरीको सम्वन्ध राम्रो थियो ।
त्यही बीच यो खरिद प्रकरणमा विशाल पण्डित जोडिन आईपुगे । उनी पहिले देखि नै हेल्थ इक्विपमेन्ट कारोबारी हुन् । उनको नेकपा सांसद सोमप्रसाद पाण्डेका छोरासँग साझेदारीको कारोवार चल्दै थियो । बालुवाटार, उपप्रधनमन्त्री इश्वर पोखरेल देखि मुख्य सचिवसम्मको कनेक्सन मिलाउने काम हिमालयन ह्वाइटहाउसका सञ्चालक युवराज शर्माले गराईदिएका थिए । त्यसपछि नै ओम्नीका नाममा खरिद गर्ने निश्र्कषमा सरकार पुगेको थियो । यो बीच उनीहरुले केही स्याम्पल समेत काठमाडौं ल्याएर उपप्रधानमन्त्री पोखरेलसँग नै परिक्षण गराएका थिए । स्वास्थ्य सामग्री अन्र्तगतको पिपिई लगायतका सामग्रीको परिक्षण यो बीचमा उपप्रधानमन्त्री पोखरेललाई नै कारोवारीले गर्न सफल भईसकेका थिए । त्यसपछि पोखरेल लगायत रिमाल, आचार्यहरुले आवश्यक सामग्री खरिद प्रक्रिया शुरु गर्न भन्दै सरकारले ओम्नीबाटै सामग्री खरिद गरेर लइाउने आश्वासन दिएका थिए ।
स्वदेशभित्र खरिद प्रकरणको जिम्माको टुंगो नलगाउदै ओम्नीले चीनमा स्वास्थ्य सामग्री खरिद प्रक्रिया शुरु गरिसकेको थियो । त्यही बीच मनोज पण्डितले स्वास्थ्य मन्त्रालयका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठसँग मिलेर मेडिकल उपकरणको सामग्रीको सूची तयार पारेका थिए । त्यसलाई अन्तिम स्वीकृत स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएपछि खरिद प्रक्रियाको जिम्मा ओम्नीले पाएको थियो । यो काण्डमा एन–९५ मास्क ८ सय ३३ रुपैयाँ (सात डलर), प्रोटेक्टिभ गगल्स २ हजार १ सय ५२ रुपैयाँ (१८ डलर) र इन्फ्रारेड थर्माेमिटर ७ हजार ७ सय ७१ (६५ डलर) मा सम्म खरिद गर्ने गरी करोडौंको कमिसनमा प्रधानमन्त्रीका सल्लाहकार देखि मन्त्रीसम्म जोडिन पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ चैत्र २०७६, १६ : ४८
लेखकबाट थप