‘पश्चिम नेपालको आकाशमा देखिएको चम्किलो बस्तु उल्कापिण्ड’

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, ०९ : ३२
‘पश्चिम नेपालको आकाशमा देखिएको चम्किलो बस्तु उल्कापिण्ड’

काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले पश्चिम नेपालको आकाशमा देखिएको चम्किलो बस्तु उल्कापिण्ड हुनसक्ने बताएको छ । सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले वास्तविकता को हो भन्ने आफूहरु खोजमै रहेपनि प्राप्त सूचनाका आधारमा त्यो चम्किलो बस्तु उल्कापिण्ड हुन सक्ने जानकारी दिए । 

 ‘हामीलाई जनसमुदायबाट प्राप्त सूचनाका आधारमा त्यो उल्कापिण्ड भएको अनुमान गरिएको छ । यद्यपि हामी सूचना संकलनकै क्रममा छौंं’ भट्टराईले भने, ‘हामी यति भन्न सक्छौं बिहीबार साँझ आकाशमा देखिएको छुद्र ग्रह नभएर उल्कापिण्ड हुनसक्छ ।’

उनकाअनुसार त्यस्ता उल्कापिण्डको साइज ठूलो भयो भने पृथ्वीको सतहमा आइपुग्छ भने सानो साइजका भने आकाशमै बिलाउँछन् ।  उनले भने, ‘धेरैले आकाव आएको भन्नु भएको छ, यसको साइजमा आधारमा पृथ्वीको सतहमासमेत ठोक्किने हुँदा उल्कापिण्डको आवाज नै आउँछ ।’ उनले उउल्कापिण्ड जुनसुकै बेलापनि खस्न सक्ने भन्दै यसको कुनै पूर्वानुमान गर्न नसकिने पनि स्पष्ट पारे । 

सोसाइटीले एक विज्ञप्तिमा समेत भनेको छ, ‘बिहीबार साँझ करिब ८ बजेतिर नेपाली आकाशमा केही चम्किलो बस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको र प्राप्त सूचनाको आधारमा प्रारम्भिक अनुमान स्वरुप उक्त बस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा जानकारी गराउन चाहन्छौं’, भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका विभिन्न स्थानबाट प्राप्त जानकारीलाई मनन गर्दा उक्त उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने अनुमान गरिन्छ ।’

सोसाइटीले थप अनुसन्धानका लागि गण्डकी प्रदेशमा बस्नेहरुलाई आफ्नो वरपर केही घटना भए–नभएकोबारे जानकारी दिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस