सरकार थप एक्सनमा, यस्ता छन् कोरोनासँग लड्न थप निर्णय

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, २२ : ५३
सरकार थप एक्सनमा, यस्ता छन् कोरोनासँग लड्न थप निर्णय

काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकार थप एक्सनमा उत्रिने भएको छ । त्यसका लागि सरकारले  विभिन्न कार्यदल गठन गरेको छ ।

शनिबार राति सम्पन्न ककोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ती कार्यदल गठन गरेको हो । कार्यदल समिति मातहत नै रहनेगरी गठन गरिएको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।  

उनका अनुसार स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा एउटा कार्यदल गठन गरिएको छ । यस्तै देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने उनले बताए । बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ भने आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा अर्को  कार्यदल गठन गरिएको छ ।

यस्तै राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा कार्यदल  र निर्णय÷निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन गर्न रक्षाममन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

यस्तै सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ । ती कार्यदलले प्रम ओलीले शुक्रबार गरेको सम्बोधनको परिधिमा रहेर काम गर्नेछ ।