कोरोना असर : पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, १४ : ४२
कोरोना असर : पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । 

कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको हो ।  नियमित पूजा भने यथावत रहेको छ । 

सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित गर्नु परेको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम हुदै गएको छ । नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दुरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ । मन्दिर परिसरमा ठाँउठाँउमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ । 

पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ । मन्दिर वरीपरी सामान्य अवस्थामा निकै भिडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ ।

पशुपतिनाथ क्षेत्र विकास कोषले नियमित रुपमा गर्दै आएको आरति पूजालाई समेत स्थागित गरेको छ । 

प्रतिक्रिया दिनुहोस