कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०८ चैत्र २०७६, ०८ : ३८
कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु

फाईल फोटो

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ६२७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३२ जनाको मृत्यु भएको छ । यो महामारीबाट इटालीमै सबैभन्दा धेरैको ज्यान गएको हो । 

चीनमा यो भाइरसबाट ३२ सय ४८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा चीनमा ३ जनाको मात्रै मृत्यु भएको छ । चीनले कोरोनाको महामारी आफ्नो देशमा सकिएको यसअघि नै बताइसकेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार स्पेनमा पनि भाइरसबाट एकै दिन २१२ जनाको मृत्यु भएको छ भने इरानमा १४९ जनाको मृत्यु भएको छ । स्पेन र इरानमा मृतको संख्या क्रमशः १ हजार ४३ र १४ सय ३३ पुगेको छ । 

हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।