कोरोना भाइरसबारे नेपाल टेलिकमले दिन्छ निःशुल्क जानकारी

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, १६ : २६
कोरोना भाइरसबारे नेपाल टेलिकमले दिन्छ निःशुल्क जानकारी

काठमाडौँ । नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ । 

उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, पैmलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ । 

नेपाल टेलिकमले गत असार महिना देखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस