– शम्भु अर्याल
बालकजस्तै चञ्चल
आज तिमी जो छौ
युवकको जस्तो बल र साहस
धैर्यताको बाँध फुटेपछि
बगिजान्छ बाढी
म हुनुको तिमी नै नरहेपछि
तिम्रो जिन्दगीभरको कमाई
तिमीले हेर्दा तिम्रै टोपी खस्ने महल
रूने छैन
तिम्रो अभावमा
कविले लेखेको कविता रूनेछ
तिम्रो सबैभन्दा ठूलो दुस्मन पनि
युद्धभूमिमा
आत्मसमर्पण गरेको
योध्दा जस्तै
परास्त हुनेछ
कविको कवितामा
बिसम्माहार हुरी र बतासमा
घुम्दै गरेको भुरूङजस्तै
भुमरीमा परेर
जब पात पतिङ्गर
छियाछिया हुन्छ
बाढीको भुमरीमा
परेको डुङ्गा कहाँ पुगेर
किनारा लाग्छ ?
बगरको काँसघारी
दुवो जस्तै उम्रिन्छ
कपास जस्तै फुलिदिन्छ
र उडिदिन्छ एकदिन
तिम्रो अभावमा
खोला बगिरहन्छ
आकाश नीलो हुन्छ
चन्द्रमा उदाईरहन्छ
टहटह घाम लागिरहन्छ
फूल फूलिरहन्छ
झरिरहन्छ
कविले कविता त्यस दिनसम्म
लेखिरहन्छ
पढिरहन्छ
जुन दिनसम्म यो धर्ती रहन्छ
(स्याङ्जा ,वालिङ–६ ,मिर्दी)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०७६, १३ : ४१
लेखकबाट थप