मन्त्री गुरुङद्वारा ‘हिमाल बचाउ’ अभियानमा लाग्न आग्रह

रासस

विहीबार, २९ फागुन २०७६, २१ : २९
मन्त्री गुरुङद्वारा ‘हिमाल बचाउ’ अभियानमा लाग्न आग्रह

फाईल फोटो

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘हिमाल बचाउ’ अभियानमा लाग्न हिमाल आरोहीलाई आग्रह गर्नुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले हिमाल आरोहीले हिमाली क्षेत्रका प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन हुने गरी आवश्यक तालीमको व्यवस्था गरेर रोजगारीको वैकल्पिक व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।  

तालिम प्राप्त आरोहीलाई प्रमाणपत्र वितरण गर्दै उहाँले भन्नुभयो, “हिमाल आरोहीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाल बचाउ अभियानमा लाग्न ढिलाई गर्न हुन्न, पर्यटन व्यवसायलाई उद्यमको रुपमा विकास हुने गरी हिमाल आरोहणको क्षेत्रमा आवश्यक तालीमको व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।” 

पर्यटक गाईडको रुपमा काम गरिरहेकालाई हिमाली क्षेत्रको जडिबुटीलगायतका प्राकृतिक स्रोतहरुको परिचालन गरेर उद्यमी हुने गरी तालीम दिने व्यवस्था नेपाल पर्वतारोहण सङ्घले गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । मन्त्री गुरुङले हिमाल आरोहणको क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्ने काममा नेपाल पर्वतारोहण सङ्घले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । सङ्घका अध्यक्ष सन्तवीर लामाले हिमाल आरोहीको हितमा केन्द्रित हुने गरी आवश्यक ऐन, कानूनको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस