कोरोना त्रास : सार्वजनिक कार्यक्रम धमाधम बन्द

६३ मुलुकमा संक्रमण, ९३ हजार १ सय ६० जना बिरामी, ३ हजार २ सय ३ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०७६, ११ : ३९
कोरोना त्रास : सार्वजनिक कार्यक्रम धमाधम बन्द

– राजकुमार सिग्देल

काठमाडौँ । पछिल्लो समय विश्वव्यापीरुपमा त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) फैलन नपाओस् भनी नेपालका विभिन्न भागमा सार्वजनिक कार्यक्रम धमाधम बन्द र स्थगित भइरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ । बुधबार बिहानसम्म यो रोगबाट ३ हजार २ सय ३ जनाको मृत्यु भएको छ भने ९३ हजार १ सय ६० जना बिरामी छन् । यो रोगको संक्रमण भएका ५० हजार जना निको भइसकेका छन् ।

नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा एक हालसम्म जनामा मात्रै पोजटिभ देखिएको छ । ती एक जना बिरामी पनि पूर्णरुपमा स्वस्थ भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराएपछि थप त्रास फैलिएको छ । यो रोगको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन सरकार र सरोकारवालाले पटक पटक आह्वान गर्दै आएका छन् । कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथै राजनीतिक पार्टी र संघसंस्थासमेतले धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।

सरकारले गत आइतबार सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्यन गर्न थालिएको हो । सोहीअनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पूर्वनिर्धारित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । नेकपाले अवस्था सहज भएपछि कार्यकर्ता भेला गरिने जनाएको छ ।

मेला महोत्सव गर्न रोक

फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको अवस्थामा प्रदेशमा उच्च सतर्कता अपनाउन थालिएको बताए । उनका अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला तथा महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि रद्द गर्ने निर्णय भएको छ ।

केन्द्र सरकारले कोरोनाबाट बच्नको लागि प्रयासहरु थालनी गरेको बताउँदै त्यही अनुसार प्रदेश सरकारले पनि संयमता अपनाउन लागेको उनको भनाइ छ । प्रदेश ५ सरकारले आगामी बैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन समेत स्थगित गरेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११० औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका सम्बन्धमा तय भएको औपचारिक कार्यक्रम रद्द गरेको छ । मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आगामी मार्च ८ का दिन (यालीसहितको साझा अभियान कार्यक्रम र ११० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस हाललाई स्थगन भएको उल्लेख गरिएको छ ।

यसो त विभिन्न शैक्षिक संस्थाहरुले तय गरेको सभा समारोहसमेत स्थगित भएका छन् । केही विद्यालयले भने स्थगनको तयारी गरेको बुझिएको छ ।

शिक्षा मन्त्रालयले मंगलबार एक सूचनामार्फत विद्यालय सभा, समारोह, वार्षिक उत्सव लगायतका जनभेला हुने कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । यही सूचना पछि कतिपय विद्यालय त तयारी भइसकेको अवस्थामा अब के गर्ने भन्नेमा अन्योलमा देखिएका छन् ।

बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कूलले आगामी फागुन २९ गते प्रज्ञा भवनमा वार्षिक समारोहको आयोजना गरेको छ । तर, सरकारी आह्वान पछि पूर्वनिर्धारित कार्यक्रम अब के गर्ने भन्नेमा विद्यालय अन्योलमा देखिएको छ ।

सो विद्यालयका प्रिन्सिपल राजेश खकुरेलले कोरोनाको त्रास फैलिरहेको र सरकारी आह्वानपछि कार्यक्रमबारे अन्योलता छाएको बताए । उनले स्कूल समग्र विद्यार्थी र जनस्वास्थ्यप्रति गम्भीर रहेको बताउँदै छिट्टै उपयुक्त निर्णय लिइने जानकारी दिए । साथसाथै विद्यालयले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीरता देखाउँदै मास्क र ह्याण्ड सेनिटाइजर अनिवार्य गरेको छ ।

अहिले बालबाटिका स्कुलको जस्तै राजधानीका अधिकांश विद्यालयले वार्षिक कार्यक्रमको आयोजना गर्ने गर्छन् । कतिपयले ‘प्रतिकूल परिस्थिति’ भन्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिसकेका छन्  ।

यसो त नेपालस्थित कूटनीतिक समुदायले पनि पूर्वनिर्धारित कार्यक्रम स्थागित गर्न थालेका छन् । अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा राजधानीमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरिसकेको छ । यस्तै कतारले पनि चन्द्रगिरीमा आइतबार लागेको फुड फेस्टिबल रद्द गरेको छ ।  

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय  कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरिसकेका छन् ।

विद्यालय बन्दको माग

सरकारी र गैरसरकारी तहमा विभिन्न औपचारिक कार्यक्रम रद्द भइरहेको अवस्थामा बालबालिका अध्ययन गर्ने विद्यालय भने खुलिरहेका छन् । भलै सरकारले चैत ५ भित्र वार्षिक परीक्षा लिन आग्रह भने गरेको छ । बालबालिकाको स्वास्थ्यमा गम्भीरता देखाइ अवस्था सामान्य नहुँदा सम्म सार्वजनिक बिदा दिइनुपर्ने कतिपयको माग छ ।

‘कोरोनाको यति ठूलो त्रास छ, बच्चालाई विद्यालय पठाउनुपर्ने बाध्यता छ’ राजधानीको नेपालटारकी अनिषा मगरले भनिन्, ‘मास्क लगाएर विद्यालय पठाइरहेको छु ।’ यस्तो त्रासका बेला विद्यालय बन्द गरिनु नै उचित हुने उनको भनाइ छ ।

बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव

अहिले बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव भएको छ । कतिपय स्थानमा पाइएपनि चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेका उपभोक्ताहरुको गुनासो छ । बजारमा भाइरसको त्रासले मास्क र सेनिटाइजरको माग अत्यधिक रहेकाले अभाव र कालोबजारी देखिएको हो ।

बजारमा मास्क खोज्दा  ‘सबै चिनियाँले लगे’ भन्दै सकिएको व्यवसायीको जवाफ हुने गरेको छ भने पाइने ठाउँमा पनि स्वाभाविक मूल्य भन्दा बढी रकम लिने गरिएको छ ।

के गर्दैछ सरकार ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने दावी गरेका छन् । उनले  कोरोनालाई नेपाल आउन नदिनु नै सरकारको प्रमुख लक्ष्य भएको भन्दै सोहीअनुसार काम गरिररहेको बताए ।  उनले यसका लागि सरकारले राम्रो तयारी गरेको पनि दावी गरे ।

डा। देवकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वाँसप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ ।’

उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाइएको पनि उनले जनाए ।

हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाइएकोस्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि केही आईसोलेशन बेड राखिएको उनले जनाए । शुक्रराज ट्रपिकलसहित पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थाम राखिएको पनि उनले जनाए । त्यस्तै, काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको पनि उनले स्पष्ट पारे ।

उनले बाहिर देशबाट आएकाहरुले स्वास्थ्य परीक्षणको फलोअप गर्नुपर्ने र सबै नेपालीहरुले मास्कको प्रयोग गर्नुपर्ने, ह्याण्ड सानिटाइजेशनको प्रयोग गर्न सुझाव दिए । मास्कको अभाव भएको भन्ने कुरा पनि आएको उल्लेख गर्दै सरकारले यसतर्फपनि आवश्यक गम्भीरताका साथ कदम चालेको उनले स्पष्ट पारे । उनले भने,‘मास्क अभाव हुनुमा हामीसँग उत्पादन क्षमता कम छ, अर्को कुरा मटरियल पनि बाहिरबाट ल्याउनुपर्ने भएकोले अहिले समस्या देखिएको हो ।’

भर्खरै आफूहरुले २५ हजार मास्क ल्याएको सुनाउँदै छिट्टै अरुपनि बन्दोबस्त गर्ने उनले योजना सुनाए । यदि मास्कमा कालोबजारी गरेको थाहा पाइए सरकारले हदैसम्मको कारबाही गर्नेपनि उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस