पूर्वडिआईजी रमेश खरेल पनि राजनीतिमा आउँदै

पूर्वप्रशासकदेखि विवादास्पद ज्ञानेन्द्र शाहीलाई समेत समेटेर नयाँ दल खोल्ने तयारी

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०७६, १२ : ०१
पूर्वडिआईजी रमेश खरेल पनि राजनीतिमा आउँदै

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाल राजनीतिमा आएर नेकपाका सांसद बनिसकेका छन् । अन्य कतिपय पूर्व प्रहरी पनि राजनीतिमा छन् । अहिले फेरि अर्का एक जना पूर्व डिआईजी पनि राजनीतिमा आउन लागेका छन् ।

अहिले भईरहेका राजनीतिक दलमा भन्दा पनि उनले भने आफ्नै संयोजकत्वमा नयाँ दल खोल्ने तयारी गरेका हुन् । ती पूर्व डिआईजी हुन् – रमेशप्रसाद खरेल । आईजिपिका आकांक्षी रहेका खरेलको ब्याचका सर्वेन्द्र खनाललाई सरकारले आईजिपि बनाएपछि उनले प्रहरी संगठनवाट राजीनामा दिएका थिए । त्यसयता उनी बेलाबेला सामाजिक सन्जालले उठाउने गरेको आन्दोलनमा सहभागी भएर आफनो पक्षमा जनमत जुटाउने प्रयास गरिरहेका थिए ।

अहिले भने उनले पार्टी स्थापनाको उद्देश्यकै लागि हाम्रो नेपाल हामी नेपाली नामक अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन् । उनले भोलि बिहिवार यसको औपचारिक घोषणा एक कार्यक्रमका वीच गर्ने तयारी थालेका छन् ।  खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताईरहेका छन् । 

सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको उनको योजना रहेको बताईएको छ । 

खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्व कायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन् । शाहीले आफुलाई भ्रष्टाचारका अभिन्यता बताएपनि उनको छवि विवादास्पद छ । 

उनी पूर्व राजाका पक्षमा समेत बेलाबेला वकालत गर्दै आईरहेका ब्यक्ती हुन् । अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन् ।  पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस