शहीद दशरथ चन्द स्मृति पुरस्कार प्रा.डा. गौतमलाई

विहीबार, १६ माघ २०७६, १८ : १२
शहीद दशरथ चन्द स्मृति पुरस्कार प्रा.डा. गौतमलाई

चितवन । हाम्रो सिर्जना त्रैमासिक पत्रिकाले बिहीबार नारायणगढमा एक समारोहको आयोजना गरी शहीद दशरथ चन्द स्मृति पुरस्कार इतिहासविद् प्रा.डा. राजेश गौतमलाई समर्पण गरेको छ । 

अमर शहीद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलन नामक पुस्तकका लागि गौतमले पुरस्कार पाएका हुन् । पुरस्कारको राशि १२ हजार रुपैयाँ रहेको छ । इतिहास विषयमा विद्यावारिधी गरेका ६९ वर्षीय गौतमका ५६ वटा पुस्तक प्रकाशित छन् ।

२०३७ सालमा तत्कालीन वीरेन्द्र मल्टीपल क्याम्पस भरतपुर (हालको वीरेन्द्र बहुमुखी क्याम्पस) बाट प्राध्यापन सुरु गरेका प्रा.डा.गौतमले ३३ वर्ष प्राध्यापन पेशामा बिताए । उनले दुई वर्ष वीरेन्द्र क्याम्पस र बाँकी ३१ वर्ष त्रिचन्द्र कलेज काठमाडौँमा पढाए ।

पहिलो पाइलो लोकार्पण

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. चुडामणि बन्धुले भारतको आसाम निवासी कवि नीता गुरुङको कविता संग्रह पहिलो पाइलो लोकार्पण गरे । कार्यक्रममा कवि गुरुङलाई सम्मान गरिएको थियो । हाम्रो सिर्जना पत्रिकाले नारायणसिंह कुँवर, युवराज क्षत्री, बाबुराम पाण्डे, लकाश पौडेल, पूर्णबहादुर अधिकारी र इन्द्रराज पौडेललाई पनि सम्मानित गरेको छ ।

भारतको मुजफ्फरपुरमा पर्ने बेनीपुरबाट आएका सामाजिक व्यक्तित्व राजेन्द्र सिंंहलाई विशेष सम्मान गरिएको थियो । सिंह राम वृक्ष बेनीपुरी चेतना समितिका सचिव हुन् । पत्रकार एवं साहित्यकार राम वृक्ष बेनीपुरीले भारतमा अंग्रेजको शासनकालमा पटनाबाट जनता नामक पत्रिका प्रकाशित गरेका थिए, जसमा शहीद दशरथ चन्दका लेख छद्मनामबाट प्रकाशित भएका छन् ।

हाम्रो सिर्जना त्रैमासिक पत्रिकाका सम्पादक प्रा.डा. गणेशराज खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता मुकुन्द दाहाल, शिक्षाविद् रमाकान्त सापकोटा, समीक्षक भूमिश्वर पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा गीतकार प्रेमविनोद नन्दन, कवि गोविन्द विनोदी, कवि चेतकान्त चापागाइँ लगायतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस