घर्ती र महतमाथि भएको आक्रमण निन्दनीय : माधव नेपाल

शुक्रबार, ०१ मंसिर २०७४, २० : १६
घर्ती र महतमाथि भएको आक्रमण निन्दनीय : माधव नेपाल

 

नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्नुभएको छ ।

पूर्वसभामुख ओनसरी घर्तीलाई रोल्पा र नेपाली काँग्रेसका नेता डा रामशरण महतमाथि नुवाकोटमा आज बम आक्रमण भएकामा नेता नेपालले घटनाको निन्दा गर्नुभएको हो ।

काठमाडौँ क्षेत्र नं २ मा युवा संघ नेपाल र योङग कम्युनिष्ट लिगको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले घाइतेको शीघ्र लाभको कामना गर्दै चुनावमा सुरक्षा चुनौती थपिएकाले संयमित भएर प्रचारप्रसारमा खटिन आग्रह गर्नुभयो । सबै राजनीतिक दलले जनतासमक्ष आफ्ना कुरा राख्न पाउनुपर्ने नेपालको जोड छ ।

उहाँले वामपन्थी दलले काँग्रेसको भन्दा भिन्न तरिकाले सरकार चलाउने दाबी गर्नुभयो ।
         

   यसैगरी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वाम गठबन्धनले बहुमत ल्याएर स्थिर सरकार चलाउने बताउनुभएको छ ।

आज निर्वाचन क्षेत्र नं ५ को महाराजगञ्जमा नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले अहिलेको आवश्यकता स्थिर सरकार भएकाले नै एमाले र नेकपा ९माओवादी केन्द्र०ले वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसलाई जनताले पटकपटक बहुमत दिए पनि चलाउने नसकेर देशलाई संकटमा परेको उल्लेख गर्दै आगामी निर्वाचनमा वाम गठबन्धनलाई मौका आग्रह गर्नुभयो ।
बुद्धिजीवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले बुद्धिजीवीको पनि मुलुक निर्माणमा ठूलो भूमिका रहेको उल्लेख गर्दै वाम गठबन्धनले सही तरिकाले उपयोग गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस