स्वस्थानी कथाबारे रोचक तथ्य !

सफल खबर संवाददाता

शनिबार, ११ माघ २०७६, २१ : ४१
स्वस्थानी कथाबारे रोचक तथ्य !

काठमाडौं । सदियौं देखि सुनिदैं आएको स्वस्थानी कथा यतिबेला नेपालका विभिन्न स्थानका विशेषगरी महिलाहरूले स्वस्थानीको व्रत लिइरहेका छन् । काठमाण्डू उपत्यकास्थित शालीनदीमै बसेर व्रत लिनेहरूको जमात पनि ठुलै छन्। नेपालको मध्यपहाडी क्षेत्रमा स्वस्थानी व्रतकथा निकै प्रचलित रहेको छ । महिलाबीच प्रचलित स्वस्थानीका कतिपय प्रसङ्गबारे पछिल्ला वर्षहरूमा आलोचना पनि हुने गरेको छ।

स्वस्थानीको कथाले महिलाहरूलाई ’दोस्रो दर्जा’को मानिसका रूपमा देखाएको आलोचकहरूको कथन रहने गरेको छ। तर अहिल पूर्वदेखि पश्चिमसम्म फैलिएको स्वस्थानीको कथा काठमाण्डू उपत्यकामा लेखिएको र उपत्यका केन्द्रित कथा रहेको इतिहास तथा संस्कृतिविद्हरूले बताउने गरेका छन्। यसै सन्दर्भमा इतिहास तथा संस्कृतिविद् काशिनाथ तमोटसँग गरिएको कुराकानी ।
काठमाण्डू केन्द्रित कथा
कतिपय अनुसन्धानकर्ताहरूले स्वस्थानीको कथालाई काठमाण्डूको कथा भन्ने गरेको सुनिन्छ । तर यो काठमाण्डूको होइन कि काठमाण्डू केन्द्रित कथा हो । सुरुमा यो कथा संस्कृतमा लेखिएको फेला परेको छ । संस्कृतमा लेखिएको केही वर्षपछि त्यसलाई नेपाल भाषा (नेवारी)मा उल्था गरिएको पाइन्छ । त्यसको धेरै वर्ष पछि मात्र  नेपालीमा उल्था गरिएको हो । संस्कृत भाषामा नेपाल संवत ६९३ अर्थात् विक्रम संवत १६३० मा स्वस्थानीको व्रतकथा लेखिएको भेटिएको छ । त्यसलाई नेपाल संवत ७ सय २३ अर्थात् विक्रम संवत १६६० मा नेपाल भाषामा उल्था गरिएको भेटिन्छ ।
सुरुको कथा
सुरुमा संस्कृतमा लेखिएको स्वस्थानीमा व्रतकथामा त्यसलाई लिङ्ग पुराणको कथा भनिएको छ । त्यसपछि कसैले शिव पुराण त कसैले स्कन्ध पुराण भनेर लेखेको भेटिन्छ । तर सुरुमा अहिलेको जस्तो ३२ अध्यायको स्वस्थानी व्रतकथा थिएन ।
त्यसबेला दुईचार दिनमा पढेर सकिने खालको कथा मात्र थियो । त्यो पनि अहिलेको जस्तो सबै कथा थिएन । गोमा ब्राह्मणी र उनका छोरा नवराजको कथा मात्र थियो।
अनि पूजाविधि सिकाइएको थियो। तर बिस्तारै त्यसमा अन्य कथाहरू जोडिन थाल्यो । सृष्टि र संहारका कथा जोडिए । शक्तिपीठका कथा पनि जोडिए ।
शैव र वैष्णव मिश्रण
खासमा स्वस्थानी भनेको शैव र वैष्णव कथाहरूको मिश्रण हो । यसमा विभिन्न पुराणका कथाका सारांशहरू जोडिएका छन् । शिव र विष्णुका कथाहरू जोडेर एउटा मौलिक खालको कथा जस्तो बनाइएको छ । स्वस्थानी माधवनारायणको व्रत साँखुमा स्वस्थानी तथा माधवनारायणको व्रत बसेकाहरू त्यसबेला विभिन्न स्थानमा आफ्नै पुरणाहरू लेख्ने चलन चलेको जस्तो देखिन्छ ।

यसै अनुसार यो पनि काठमाण्डू केन्द्रित स्थान पुराण जस्तो बन्यो । खासमा स्वस्थानी भनेको पनि पार्वती देवी नै हुन् भन्ने देखिन्छ ।  सुरुमा अन्य पुराणको भनेर लेखिए पनि स्कन्ध पुराण चाहिँ धेरै चल्तीमा आएको थियो । कुमार र अगस्त्यको संवाद चाहिँ स्कन्ध पुराणबाट लिइएको देखिन्छ।

देशभर कसरी फैलियो?
पहिले मानिसहरूले पढ्नलेख्न जान्दैन थिए । त्यस्तो बेलामा यस्ता कथाहरू सुन्ने भनेकै पुराण लगाएका बेला हुन्थ्यो । तर आजभन्दा डेढ, दुई सय वर्ष अघि नेपाली भाषामा स्वस्थानी लेखियो । त्यो स्वस्थानी घरघरमा पुग्यो र  त्यसलाई पढ्नका लागि पण्डित नै नचाहिने भयो । त्यसका कथामा अन्य धार्मिक कथाहरूमा जस्तो अन्यत्र भन्दा पनि नेपाल भित्रकै कुराहरू वर्णन गरिएकाले पनि धेरैलाई यसले आकर्षित गर्‍यो । यो नेपाली जीवनको एउटा स्वतन्त्र कथा जस्तो बन्यो । त्यसले गर्दा यो धेरै लोकप्रिय भयो । 

अहिले यो कथाबारे आलोचनात्मक कुराहरू पनि उठिरहेका छन् । त्यही कारणले हुनुपर्छ कतिपयले यसलाई छाड्दै गएको पनि देखिन्छ।  त्यसको उदाहरण काठमाण्डू उपत्यका नै छ । यहाँ उत्पत्ति भएको कथा भए पनि काठमाण्डूकै नेवारहरूले स्वस्थानी परम्परालाई खासै अपनाएको देखिँदैन।

प्रतिक्रिया दिनुहोस