चितवन । भनिन्छ, बाह्र वर्षमा खोला पनि फर्कन्छ रे । आजसम्म खोलो फर्किएको कसैले देखेको छैन, तर भरतपुरमा जन्मेर नारायणगढमा हुर्केका ४४ वर्षीय पशुपति श्रेष्ठ भने बाह्र वर्षसम्म जापानमा बगाएको पसिनाको आर्जन बोकेर स्वदेश फर्किएका छन् । विदेशमा गर्ने दुःख स्वदेशमै गर्ने हो भने विदेशमा हुने कमाई स्वदेशमै गर्न सकिने सोचाई बनाएर उनले भरतपुर महानगरपालिका वडा नम्बर दुईमा द सेन्ट्रल गार्डेन फेमिली रेष्टुरेण्ट संचालनमा ल्याएका छन् ।
नारायणी कला मन्दिर पछाडि रहेको खाली जमिन दस वर्षका लागि भाडामा लिएर श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनबाट रेष्टुरेण्ट संचालनमा ल्याएका हुन् । शान्त वातावरणमा रहेको उनको रेष्टुरेण्टमा एउटा ठूलो सेमिनार हल छ, जहाँ पारिवारिक पार्टी गर्न मिल्छ ।
बाहिर खाली ठाउँमा दुबो र फूल लगाएर बगैँचा निर्माण गरेका छन् उनले । कुनातिर हरियो सागपात र तरकारी रोपिएको छ । दुई वटा कटेज पनि छन् । पशुपति, उनकी श्रीमती जेनी श्रेष्ठ र तीन जना कामदारको भरमा रेष्टुरेण्ट चलिरहेको छ ।
विगतको संघर्ष
अविवाहित छँदै वर्किङ भिसामा सन् २००७ मा जापान छिरेका पशुपतिले सुरुको दुई वर्ष टोकियोमा रहेको रेष्टुरेण्टमा काम गरे । दुई वर्षमा अलिकति रकम जोडेपछि घर फर्केर वैवाहिक बन्धनमा बाँधिएका उनले बिहेपछि श्रीमतीलाई पनि जापान लिएर गए । त्यसपछि जापानमा सुरु भयो श्रेष्ठ दम्पत्तिको श्रम र संघर्षका दिन । पशुपति रेष्टुरेण्टमै फूलटाइम काम गर्थे । उनकी श्रीमती जेनी भने कहिले म्याकडोनाल्डमा त कहिले अन्य कम्पनीमा पार्टटाइम काम गर्थिन् । दिनभर अलगअलग भएपनि राति दुबै जना सँगै हुन्थे । सँगै खाना खान्थे, सँगै सुत्थे ।
बिहेपछि दुई वर्ष अरुकै रेष्टुरेण्टमा काम गरेका पशुपतिले त्यसपछि टोकियोमा आफ्नै रेष्टुरेण्ट सुरु गरे । भर्खर जापान पुगेका नेपाली कामदार उनको रेष्टुरेण्टमा काम गर्थे । जेनीले भने बाहिरको पार्टटाइम जबलाई नै निरन्तरता दिइन् । समयको चक्का घुम्दै गयो, पशुपति र जेनीका जवानीका दिन बित्दै गए । यसबीचमा नेपाल आउने र जापान फर्कने क्रम चलिरह्यो । समय क्रममा पशुपति र जेनी एक छोरी र एक छोराका बाबुआमा बने ।
अलिअलि कपाल झरेर तालु देखिन थालेपछि, टाउकोमा सेता कपालको संख्या बढ्न थालेपछि पशुपछि झस्किए । शरीरमा बल छउञ्जेल विदेशमा काम गरेर बुढेसकालमा नेपाल फर्केर के गर्ने ? यो प्रश्नले दिमागमा डेरा जमाएपछि उनले एक दिन श्रीमतीसँग सल्लाह गरे नेपाल फर्कने । जेनीलाई पनि जापानको दौडधुपले दिक्क बनाएको थियो, सधैँका लागि घर फर्कने कुरामा सहमति जनाइन् ।
गत वर्ष नारायणगढस्थित घरमा आएको श्रेष्ठ परिवारमा एउटा बज्रपात भयो । पशुपतिका बुबा चिजकुमार श्रेष्ठले संसार छाडे । मुटुरोगी चिजकुमारलाई हृदयाघातले परलोक पु¥यायो । पशुपति, उनकी आमा रमादेवी, दिदी रितुना, बहिनी रेना र भाइ महेश्वरले अभिभावकत्व गुमाए । यो बज्रपातले पशुपतिलाई विचलित पार्न भने सकेन । पारिवारिक वातावरणमा खाजा र खानाको स्वाद लिन चाहनेहरुलाई रेष्टुराँ सञ्चालन गर्ने आफ्नो सोचाइलाई उनले पूरा गरे । बुबाको अभाव भने उनलाई खड्किएको छ ।
जापानबाट फर्कनुको कारण
बाह्र वर्ष जापान रहँदा देखेको जापानीहरुको मेहेनत र लगावले पशुपतिलाई स्वदेशमै केही गर्नु पर्छ, मेहेनेत गर्नु पर्छ भन्ने सन्देश दियो । "जापानीहरुले गर्ने मेहेनत अनुकरणीय छ" उनी भन्छन्, "जापानीहरुले मेहेनत गरेर नै देशको विकास गरेका हुन् । ७० वर्षका व्यक्तिले पनि काम गरिरहेका हुन्छन् ।"
जापानीहरुको कामप्रतिका लगाव देखेपछि स्वदेशमा फर्केर आफूले जानेको काम सुरु गरेपछि सफल भइन्छ भन्ने आत्मविश्वासले पशुपतिलाई नेपाल फर्कायो । विदेशमा १२ घण्टा काम गर्नुभन्दा त्यही दुःख स्वदेशमा गरेर कमाईसँगै परिवारबीच सुखदुःखका दिन बिताउन सकिने आशामा उनी नारायणगढ फर्किए ।
"आफू जन्मेको, हुर्केको, पढेको ठाउँको धेरै माया लाग्दोरहेछ" भावुक बन्दै पशुपति भन्छन्, "विदेशमा जति राम्रो भए पनि आफ्नै देश, आफ्नै ठाउँ र आफन्तजनको सम्झना आइरहँदो रहेछ । यी सबै कुराले तानेर मलाई नेपाल ल्याए । नेपालको मायाले बोलायो । विदेशमा बसेर राष्ट्रियताको कुरा गर्नेहरु फटाहा हुन् । देशको माया छ भने स्वदेशमै केही गर्नु पर्छ ।"
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
शनिबार, ११ माघ २०७६, १५ : ३३
लेखकबाट थप