काठमाडौँ । उपचारमा लापरबाही गरेको भनी छानबिनको दायरामा रहेका डा. चन्द्रमणि अधिकारीलाई सरकारले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय केन्द्रको निर्देशकमा नियुक्त गरेको छ । पुस ७ को मन्त्रिपरिषद् निर्णयअनुसार मुटु रोग विशेषज्ञ डा. अधिकारी चारवर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।
गलत रगत चढाउँदा सर्लाहीकी ५ वर्षीया आकृतिकुमारी साहको मृत्यु भएपछि डा. अधिकारीलगायत गंगालालका सात जनामाथि छानबिन गर्न उच्च अदालत पाटनले प्रहरीलाई आदेश दिएको थियो । ‘शल्यक्रिया गर्ने क्रममा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मृत्यु भएको तथ्यमा विवाद छैन । निवेदकले जाहेरी दर्ता गर्न ल्याएपछि अनुसन्धानको प्रक्रियामा लैजानुपर्छ,’ कात्तिक ८ मा न्यायाधीश कृष्णलाल भट्टराई र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले दिएको आदेशमा भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिल र सरकारी वकिल कार्यालयसँग समन्वय गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाउनू ।’
अदालतको आदेश कार्यान्वयन गर्नुको सट्टा सरकारले आरोपित व्यक्तिलाई नेतृत्व दिएको भन्दै अस्पतालका चिकित्सक र पीडित पक्षले विरोध गरेका छन् । ‘अस्पतालमा अन्य वरिष्ठ चिकित्सक हुँदाहुँदै जुनियर र अभियोग लागेका व्यक्तिलाई नेतृत्व दिन सुहाउँछ ?’ गंगालालका एक चिकित्सकले भने । मृतकका आफन्त सुरेन्द्र साहले १० महिनादेखि न्याय माग्दै आए पनि नपाएको बताए ।
उनले मुद्दा फिर्ता गर्न प्रलोभन र धम्की आइरहने बताए । ‘न्याय माग्दै भौंतारिरहेको छु । जता गए पनि झुलाइरहन्छन्,’ उनले भने, ‘न्याय नपाएसम्म लडिरहन्छु ।’ बालिकाको उपचारमा अस्पतालका तत्कालीन निर्देशक डा. ज्योतीन्द्र शर्मा, डा. रवीन्द्रभक्त तिमिला र डा. नवीनचन्द्र गौतम संलग्न थिए ।
ल्याब कोर्डिनेटर डा. अधिकारी थिए । आफन्तले उपचारमा संलग्न तीनै जना चिकित्सक, डा. अधिकारी, प्रशासन प्रमुख दीपेन्द्र खड्का, ल्याब इन्चार्ज विन्देश्वर यादव र बेहोस गराउने चिकित्सक (ऐनस्थेसियोलोजिस्ट) जेजुनाथ पोखरेलविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०५ माघ २०७६, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीबासीले अब १६ लाखसम्मको निःशुल्क उपचारको सुविधा पाउने
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा हुने
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने सरकारको निर्णय
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा