डोलेश्वरमा महाशिवरात्री पर्वका लागि साधुसन्तको ओइरो

सोमबार, २९ माघ २०७४, १४ : १३
डोलेश्वरमा महाशिवरात्री पर्वका लागि साधुसन्तको ओइरो

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ ।

डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै महाशिवरात्रि पर्वलाई भव्य रुपमा मनाउन सबै तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक एवं समितिका वरिष्ठ अध्यक्ष विदुरमानसिंह बस्नेतले बताउनुभयो ।

महाशिवरात्रि पर्वका लागि भारतबाट आजसम्ममा २५० नागा बाबा एवं साधुसन्त आइसकेका र साँझसम्म ५०० जना साधुसन्त आउने उहाँले जानकारी दिनुभयो ।

डोलेश्वर आएका नागा बाबा एवं साधुसन्तलाई समितिले नै खाने, बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । महाशिवरात्रि पर्वमा डोलेश्वर आउने दर्शनार्थीका लागि बिहान ४ देखि राति १२ बजेसम्म मन्दिरको चारै वटा ढोका खुल्ला गरेर दर्शनको व्यवस्था गरिने जानकारी दिँदै उहाँले पञ्चस्नान गर्न चाहने भक्तजनले रु एक हजार १०० को रसिद काटेर दर्शन एवं पूजा गर्न र यस दिन चार प्रहर पूजामा सहभागी हुन चाहने भक्तजनले रु ११ हजार १११ को टिकट काटेर पूजामा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रचारप्रसार समितिका संयोजक मोहन बल्लभले महाशिवरात्रिमा डोलेश्वर आएका नागा बाबा, साधुसन्तमध्येबाट महाशिवरात्रिको भोलिपल्टको बिदाइ कार्यक्रममा ‘क’ वर्गकालाई रु एक हजार १११, ‘ख’ वर्गकालाई रु ७७७ र ‘ग’ वर्गकालाई रु ५५५ नगदसहित एक–एक थान कम्बल र एक थान धोती दिएर बिदाइ गरिने बताउनुभयो ।

उक्त पर्वमा करिब रु १० लाख खर्च हुने अनुमान गरिएको र यसका लागि एक मूल समिति र सात वटा विभिन्न उपसमिति बनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस