प्रदेश नम्बर ३ को नाम बागमती राख्ने निर्णयको जनमोर्चाद्वारा समर्थन

आइतबार, २७ पुस २०७६, २२ : ५१
प्रदेश नम्बर ३ को नाम बागमती राख्ने निर्णयको जनमोर्चाद्वारा समर्थन

काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रदेशसभा बैठकबाट ३ नम्बर प्रदेशको नाम बागमती राख्ने निर्णय भएपछि सो निर्णयको समर्थन गरेको छ । यद्यपि प्रदेशको राजधानी हेटौडा राख्ने निर्णयप्रति भने सो पार्टी मौन बनेको छ ।

‘३ नंं प्रदेशको प्रदेशसभाद्वारा उक्त प्रदेशको नाम बाग्मती राख्ने भनेर जुन निर्णय गरिएको छ, त्यसलाई राष्ट्रिय जनमोर्चाले हार्दिक समर्थन गर्दछ । जहाँसम्म त्यो प्रदेशको राजधानी हेटौडालाई राख्ने निर्णय गरिएको प्रश्न छ, त्यसबारे हामीले केही टिप्पणी गर्न चाहन्नौँ ।

हाम्रो पार्टीको सुरुदेखि नै यो मान्यता रहेको छ कि कुनै प्रदेशको राजनीतिको ठेगान उच्च अधिकारसम्पन्न आयोगको सिफारिसमा नै गरिनु पर्दछ । किनभने पार्टीहरूद्वारा त्यसबारे कुनै निर्णय लिदा अनावश्यक विवाद हुने सम्भावना हुन्छ’ सो पार्टीकी प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नो पार्टीले सङ्घीय रूपमा प्रदेशहरूको संरचनालाई स्वीकार नगरेपनि प्रशासनिक इकाईको रूपमा प्रदेशहरूको निर्माणलाई अस्वीकार पनि नगर्ने विज्ञप्तिमा भनिएको छ । ‘प्रदेशहरूको सङ्ख्या निर्धारण गर्ने छलफल चल्दा हामीले ७ वटा प्रदेशहरू बन्ने प्रस्ताव राखेका थियौँ । पछि ७ वटा प्रदेशहरूको निर्माण गरियो । त्यसले हाम्रो पार्टीको सही र दुरदर्शीतापूर्ण सोचाइलाई बताउँछ’, विज्ञप्तिमा भनिएको छ ।

हामीले प्रदेशहरूको नामबारे पनि आफ्ना सुझावहरू दिएका थियौँ । हामीलाई यो कुराको प्रसन्नता छ कि, हामीले दिएका सुझावहरू मध्ये तीनवटा नामहरू सम्बन्धित प्रदेशसभाद्वारा स्वीकृत भइसकेका छन्, जस्तै कि कर्णाली प्रदेश, गण्डकी प्रदेश र अहिले बाग्मती प्रदेश । त्यस प्रकारका निर्णयहरूले पनि हाम्रो पार्टीको दूरदर्शीतापूर्ण सोचाइलाई बताउँछ ।’