हेटौंडा नै बन्ने भयो प्रदेश राजधानी

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, २१ : २४
हेटौंडा नै बन्ने भयो प्रदेश राजधानी

काठमाडौ । प्रदेश–३ को स्थायी राजधानी हेटौंडा नै हुने भएको छ । नेकपाकै केही नेताहरुको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले दायाँबायाँ नगर्न कडा निर्देशन दिएका छन् भने ओलीको निर्देशन पछि उनीहरु पनि निर्देशन मान्न बाध्य भएका छन् । 

मंगलबार बालुवाटार पुगेका प्रदेश ३ का नेताहरुलाई ओलीले हेटौंडा नै राजधानी हुने बताएका थिए । त्यसपछि नेताहरु पनि त्यसैमा सहमति जनाएर फर्केका छन् । 

नेकपा प्रदेश–३ का अध्यक्ष नारायण दाहालले प्रधानमन्त्रीसहित कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले पार्टी निर्णय लागु गर्न भनेकाले अव सोही निर्णय कार्यान्वयन हुने बताए । 

मंगलबार बालुवाटारमा नेताहरुसँगको छलफलमा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले सचिवालयले निर्णय गर्नुअघि आफूहरुसँग छलफल गरेर गरेको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखेकी थिइन् । तर ओलीले विविध कारणले निर्णय गर्न परेको बताएका थिए । 

छलफलमा नेकपा प्रदेश–३ की इञ्चार्ज  शाक्यको नेतृत्वमा मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईंलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस