देउवाले किन बोलाए शशांकलाई निवासमा ?

आफु विरोधी समुहमा एकअर्कामै अविश्वास पैदा गराईदिने, फुट पार्ने र पार्टी सत्ता चलाउने रणनीतिमा लागेका छन् शेरबहादुर देउवा ।

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, ०९ : १२
देउवाले किन बोलाए शशांकलाई निवासमा ?

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा आफु इतर समुहका नेता फकाउने प्रयासमा लागेका छन् । संस्थापन पक्षसँग सिधै अब महाधिवशेनमा भेट हुने बताउँदै आएका संस्थापन इतर समुहका एक एक नेतालाई फरक फरक ढंगले भेटघाट गर्दै देउवाले फकाउने रणनीति लिन थालेका छन् ।

अब एक्लै दुक्लै सभापति देउवासँग भेट नगर्ने बताएका महामन्त्री डा. शशांक कोइरालालाई देउवाले एक्लै आफ्नै निवासमा बोलाएर भेटेका छन् । हिजो दिनभर देउवाको प्रयास असन्तुष्ट नेताहरुलाई विभिन्न माध्यम प्रयोग गरेर भेट्ने र फकाउने प्रयास गरेका थिए । सभापति देउवाले पौडेल, कोइराला र सिटौला पक्षको बहिष्कारका बाबजुद पनि महाधिवशेन कार्यतालिका तोक्ने देखि तरुण दलको म्याद थप गर्ने र केन्द्रीय विभाग बढाउने सम्मका निर्णय लिएका थिए । त्यसपछि देउवा इतर पक्षका नेताहरु थप रणनीति बनाउन निरन्तर सम्वादमा छन् ।

उनीहरु देउवाको पार्टीभित्रको अधिनायकवादका विरुद्ध गाँउ तहसम्मै अभियान लिएर जाने तयारीमा छन् । सोमबार उनीहरुले सांसद दिब्यमणि राजभण्डारीको मण्डिखाटरस्थित निवासमा छलफल गरेका थिए । देउवाले भने आफु विरुद्ध पार्टीभित्र देखा परेका सवै समुह एक हुन थालेपछि त्यो गठबन्धन भत्काउने रणनीतिमा इतर समुहका नेताहरुलाई छुटाछुटै भेटेर फकाउने रणनीति अख्तियार गरेका हुन्  । त्यही क्रममा उनले १७ पुसमा पार्टी केन्द्रीय समितिको बैठक पनि बोलाएका छन् । पौडेल पक्षलाई अप्ठयारोमा पार्नका लागि उनले सो दिनको छलफल राष्ट्रिय सभाको ९ माघमा हुने निर्वाचनको उम्मेदवार चयनका लागि भनेर बोलाएका छन् ।

केन्द्रीय समितिको बैठक बहिष्कार गरिरहेको समुहलाई देउवाले चुनावका उम्मेदवार चयनका लागि बैठक बोलाए पछि दुविधामा पारेको छ । नजाउ चुनावमा पार्टीको सवाल छ, जाऔं देउवाले आफुहरुको मागको बेवास्ता गरेर अगाडी जाने र उनलाई गलाउन सक्ने अवस्था आउदैन । त्यही भएर पनि उनीहरु सांसद राजभण्डारीको निवासमा आन्तरिक छलफलमा बसेका थिए ।

सभापति देउवाले महामन्त्री कोइरालालाई विदेशी टोली पार्टी प्रतिनिधीसँगको भेटघाटमा आउन चाहेकोले बुढानिलकण्ठ आउनु भन्दै शशांकलाई बोलाएका थिए । त्यसपछि उनीहरुका बीचमा लामैं कुराकानी भएको स्रोतले बताएको छ । आफु विरोधी समुहमा एकअर्कामै अविश्वास पैदा गराईदिने, फुट पार्ने र पार्टी सत्ता चलाउने रणनीतिमा अहिले शेरवहादुर देउवा छन् । त्यही भएर उनले रामचन्द्र पौडेल पक्षलाई फकाउन बिहान उपसभापति विमलेन्द्र निधीलाई पौडेल निवास वोहोराटारमा पठाएका थिए ।
 

प्रतिक्रिया दिनुहोस