नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

रासस

बुधबार, ०९ पुस २०७६, १७ : ५७
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इञ्जिनीयर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । 

    “सडकखण्डको भित्तामा अड्किएका ढुङ्गा झार्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म तीन प्रतिशत मात्र काम भएको छ ।” जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर २७ गतेबाट दुई हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न अनुरोध गरेको थियो । सोहीअनुसार पुस ११ गतेसम्म सडक बन्द गरेर आयोजनाले काम गरिरहेको छ तर, माथिका ढुङ्गा झार्न अझै दुई हप्ता समय लाग्ने भएकाले दिउँसोको सवारी आवागमनमा अवरोध पुग्ने सूचना अधिकारी खनालले बताउनुभयो । 

    एक हप्ता समय थप गरेर भए पनि काम सम्पन्न गर्ने उहाँले जानकारी दिनुभयो । बाँकी काम भने सवारी साधन पुनः सञ्चालन गरेर पनि गर्न सकिनेछ, उहाँले भन्नुभयो । ढुङ्गा झारेपछि रकनेटिङ, बोल्टिङ प्रविधिबाट जाली लगाइने उहाँले जानकारी दिनुभयो । अहिले सडकखण्डको गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालीखोला क्षेत्रमा पहिरो रोकथामको काम भइरहेको छ । रु १४ करोडको लागतमा बज्रगुरु, हिमसगरमाथा न्यू टेक्निकल जेभीले पहिरो रोक्ने कामको जिम्मा पाएका हुन् । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्ने इञ्जिनीयर खनालले जानकारी दिनुभयो ।

    काम गर्ने अवधि छ महिना तोकिएको छ तर, यही स्तरमा कामको गति अगाडि बढे साढे तीन महिनामा सकिने खनालले बताउनुभयो । अबको एक महिनामा २० प्रतिशत काम हुने खनालको भनाइ छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भइसकेको हो । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ । 

    सडकखण्डअन्तर्गत दासढुङ्गा, खानी र मौरीका तीन वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने जलवीरेको पुल ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी १४ पुलको पनि निर्माणको प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ । अहिले दिउँसोको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो र मालबाहक सवारीलाई दासढुङ्गामा रोकिन्छ । पोखराबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएको छैन । विश्व बैंकको ऋण सहयोगमा एशियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो नियन्त्रणको काम बाँकी रहेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस