चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको जीवन बिमा अनिवार्य गरिनु पर्ने बताउनु भएको छ । भरतपुर भवन निर्माण ब्यवसायी समितिको पाँचौं वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रुपमा शनिबार भरतपुरमा सम्बोधन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।
‘निर्माण मजदुरहरूको अनिवार्य जीवन बिमा जरूरी छ’ प्रमुख अतिथि दाहालले भन्नुभयो, ‘ब्यवसायीहरूको पेशागत र भौतिक सुरक्षा पनि आवश्यक छ ।’ उहाँले साना तथा मझौला निर्माण ब्यवसायी र मजदुरहरू आवद्ध भरतपुर भवन निर्माण ब्यवसायी समितिका समस्या समाधान गर्न भरतपुर महानगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो ।
रोजगारीको सृजना गरी श्रम जनशक्तिलाई देश निर्माणमा सहयोग पु¥याएकोप्रति ब्यवसायीहरूको प्रसंशा गर्दै महानगर प्रमुख दाहालले निर्माण क्षेत्रमा लागेका ब्यवसायी तथा मजदुरलाई समय अनुकुल तालिम र क्षमता विकासका कार्यक्रम नियमित रूपमा संचालन गरिरहनु पर्ने बताउनु भयो । उहाँले भरतपुर निर्माण ब्यवसायी समितिसँग सहकार्य गर्दै अगाडि बढ्न भरतपुर महानगरपालिका तयार रहेको बताउनु भयो ।
विकास निर्माणका काममा महानगरलाई निर्माण व्यवसायीहरुको साथ र सहयोग चाहिने दाहालको भनाइ थियो । मजदुर र ब्यबसायीहरूलाई परेका पिरमर्का महानगरपालिकाले सम्बोधन गर्दै जाने विश्वास दिलाउँदै कार्यक्रमकी प्रमुख अतिथि दाहालले ब्यवसायीहरू पनि क्षमतावान र इमानदार हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मझौला तथा साना निर्माण ब्यवसायी र मजदुरहरूको पेशा संकटमा रहेको भन्दै यसलाई ब्यवस्थित र मर्यादित बनाउँदै लैजान आग्रह गर्नुभयो । यो पेशामा संलग्नहरूको न्यूनतम माग राज्यले सम्बोधन गर्न जरूरी भएको भन्दै प्रमुख जिल्ला अधिकारी भट्टले ब्यवसायीहरू पनि तालिम प्राप्त र क्षमतावान हुनुपर्ने धारणा राख्नुभयो ।
समितिका अध्यक्ष मदन हजारा पासवान को अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा निर्माण ब्यवसायी संघ चितवनका अध्यक्ष हरि घिमिरे, चितवन उद्योग संघकी उपाध्यक्ष प्रतिभा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा समितिलाई विशेष योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । समितिमा १५ हजारभन्दा बढी ब्यवसायी तथा मजदुर आवद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस