सुनसरीमा आधुनिक हतियार र १० हजार गोली भेटियो

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, १७ : २१
सुनसरीमा आधुनिक हतियार र १० हजार गोली भेटियो

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित एकता टोलबाट प्रहरीले आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद गरेको छ ।

प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको हो ।

सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार बरामद हतियार र गोलीमा खिया लागेको छ । उनका अनुसार हतियार र गोली बरामद भएको स्थानमा २०६७ सालमा कुखुराको खोर निर्माण गरिएको थियो । पछिल्लो समय खोरमा कुखुरा पालिएको छैन् ।

विष्फोटक पदार्थ भेटिएको सूचनाका आधारमा नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो ।

बरामद गरिएको हतियार तत्कालीन माओवादीले सेना समायोजनका बेला लुकाएर राखेको हुनसक्ने अनुमान प्रहरीको छ । ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।