नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले जबजमा गरे पिएचडी

कांग्रेस नेता चन्द्र भण्डारीद्वारा पनि विश्वव्यापीकरणको प्रभाव शीर्षकमा पिएचडी

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, १३ : ०१
नेकपाका स्थायी समिति सदस्य बेदुराम भुसालले जबजमा गरे पिएचडी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बेदुराम भुसालले जबजमा विद्यावारिधि गरेका छन् । 

भुषालले जनताको बहुदलीय जनवाद (जबज)को ऐतिहसिक विकासक्रम शीर्षकमा पिएचडी गरी त्रिभुवन विश्वविद्यालयबाट विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । 

नेकपाभित्र अध्ययनशील र वैचारिक नेता मानिने भुसाल ४ वर्षअघि पीएचडीको विद्यार्थीका रूपमा भर्ना भएका थिए ।

आफ्नो शोधपत्रमा भुसालले मार्क्सवादको उत्पत्ति यसको विश्वमा विकासक्रम र नेपालमा यसको विकास क्रमबारे समेत उल्लेख गरेका छन् ।

‘मेरो शोधपत्रमा मार्क्सवाद नेपालमा कसरी आयो यसलाई कसले ल्यायो, त्यसपछि नेपालमा कस्ताकस्ता विचार आए भन्नेछ,’ भुसालले भने,‘ मार्क्सवादभित्र कसरी जबज आयो र यसमा के छ भन्ने नै हो ।’ भुसालका गाइड डाक्टर सुरेन्द्र केसी थिए ।

कांग्रेस नेता चन्द्र भण्डारीले गरे विश्वव्यापीकरणको प्रभाव शीर्षकमा पिएचडी

यस्तै पीएचडी हासिल गरेका कांग्रेस नेता चन्द्र भण्डारी पनि बिहीबार नै दीक्षित भएका छन् । भण्डारीले राष्ट्र र राज्य निर्माणमा विश्वव्यापीकरणको प्रभाव शीर्षकमा विद्यावारिधि गरेका छन् ।

उनले नेपालमा प्रजातन्त्र आएदेखि गणतन्त्र आएसम्मको अवधिमा विश्वव्यापीकरणले समाजका विभिन्न क्षेत्रमा कस्तो प्रभाव पर्‍यो भन्नेबारे अध्ययन गरेका छन्।

‘मेरो अध्ययन निष्कर्षमा नेपाल त अस्थिपञ्जरजस्तो देखिन्छ, आफ्नो मौलिकता केही पनि नभएको र लक्ष्य भुलेको,’ भण्डारीले भने,‘हामी शिक्षा, स्वास्थ्य, रहनसहन, संस्कृतिमा अरूको नक्कल गर्नाले छाडाजस्ता भएका छौं । मौलिकता हराएको छ ।’

उनले राज्य सञ्चालन गर्ने नेताहरूले सबैभन्दा बढी नेपाली संस्कृति भुलेर विदेशी संस्कृतिमा रमेकाले अहिलेको अवस्था आएको अध्ययनमा देखिएको बताए । ऋषिकेशराज रेग्मीको गाइडमा भण्डारीले पिएचडी गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस