पिपिएल क्रिकेटमा चितवन राइनोजको शानदार जीत

विहीबार, ०३ पुस २०७६, १६ : ५२
पिपिएल क्रिकेटमा चितवन राइनोजको शानदार जीत

पोखरा । पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटमा चितवन राइनोजले १ सय १९ रनले बुटवल ब्लास्टरलाई हराएको छ। टस जितेको बुटवलले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवन सुरुदेखि आक्रामक देखिएको थियो। २०३ रन बनाएको चितवनका कप्तान पारस खड्का र रोहन मुस्तफाले अर्धशतक बनाए।

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा चितवनको पक्षमा खेलभर दर्शकबाट हुटिङ आएको थियो । पिपिएलमा अहिलेसम्मकै सर्वाधिक रन बनाएको चितवनले बलिङमा पनि बुटवललाई दबाबमा राखेर नै हराएको छ ।

यसअघि पोखरालाई ६ विकेटले हराएको चितवन अंक तालिकाको शीर्ष स्थानमा छ। बुटवलले यसअघिको खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको थियो। 

२ सय ४ रनको लक्ष्य पछ्याएको बुटवल १८.४ ओभरमा ८४ रनमा अलआउट भएको हो। बुटवलको ओपनिङ ब्याटिङमा आएका अफ्ताबुद्धिन अहमदले ५ बलमा २ रन साथै शंकर रानाले १० बलमा ५ रन मात्रै बनाए। 

तेस्रो क्रममा ब्याटिङमा आएका हर्ष टन्कले २ बलमा १ रन, शिवम सिंहले ३३ बलमा ३३ रन, भिम सार्कीले २१ बलमा २१ रन, सोमपाल कामीले ८ बलमा ३ रन, शेर मल्लले ७ बलमा २ रन बनाए। अभिनाश बोहरा शून्यमै आउट भए। हरि चौहानले २० बलमा १२ रन बनाए।

चितवनका लागि करण केसीले ४ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्रै खर्चिए। रोहन मुस्तफाले दुई विकेट लिए। यस्तै सन्नी पटेल, भुवन कार्की, बिक्रम शोब र बिक्रम भुसालले एक–एक विकेट लिए। 

यसअघि बुटवल ब्लास्टरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरा २० ओभर खेल्दै ३ विकेट जाँदा २ सय ३ रन बनाएको हो। दोस्रो पिपिएल चलिरहँदा यो अलिहेसम्मकै सर्वाधिक रन पनि हो। यसअघि गएको सिजनको पहिलो खेलमा पोखराले विराटनगरविरुद्ध १ सय ९७ रन बनाएको थियो। 

चितवनका लागि कप्तान पारस खड्का र रोहन मुस्ताफाले अर्धशतक बनाए। मुस्तफाले  ५६ बलमा ७० रन बनाए। अविजित रहेका उनले ७ चौका २ छक्का हाने। २ बल खेलेका सन्नी पटेल ४ रनमा अविजित रहे।

पारसले ४० बलमा ६३ रन बनाए। उनी अफ्ताबुद्धिन अहमदको बलमा क्याच आउट भएका थिए। त्यसअघि उनले ६ चौका र २ छक्का हाने। 
 

प्रतिक्रिया दिनुहोस