पुस १२ गतेबाट २१ औं पोखरा सडक महोत्सव

आइतबार, २९ मंसिर २०७६, १३ : ५३
पुस १२ गतेबाट २१ औं पोखरा सडक महोत्सव

चितवन । पुस १२ गतेबाट १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ सम्म) २१ औं पोखरा सडक महोत्सव हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पर्यटकीय केन्द्र लेकसाइडमा ३ किलोमिटर क्षेत्रमा सडक महोत्सव हुन लागेको हो । 

महोत्सवको प्रचारप्रसारको लागि रेवान पोखरा देश दौडाहामा छ । आज आइतबार चितवनको सौराहा आइपुगेको रेवान पोखराले पत्रकार सम्मेलन गरी २१ औं पोखरा सडक महोत्सवको जानकारी गराएको थियो । 

सडक महोत्सवका सहसंयोजक नरेश भट्टराईले २० वर्षदेखि पर्यटकीय नगरी पोखरामा सडक महोत्सव हुँदै आएको छ । ‘अन्नपूर्ण हिमश्रृंखलाको आँगन र फेवाताल किनारको यस्तो महान् चाडपर्व नछुटाउन सबैलाई चुले निम्तो बाँड्दै चितवनको सौराहा आइपुगेका छौँ’ सहसंयोजक भट्टराईले भने । 

मुलुकभित्र हुने मेला महोत्सवमध्ये सबैभन्दा धेरै पाहुना सहभागी हुने यस महोत्सवमा देशभरका कलाकारिता प्रस्तुत गरिने छ । महोत्सव सम्पन्न गर्न रेबान पोखराका उपाध्यक्ष लक्ष्मण बराललाई संयोजकमा र कार्यसमिति सदस्य नरेश भट्टराई, वसन्त गौतमको सहसंयोजकमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएको छ । 

आयोजक रेवान पोखराले महोत्सवमा ८५ लाख आम्दानी हुने र ७० लाखको हाराहारीमा कारोबार हुने अनुमान गरेको छ । महोत्सवमा भारतीय, पाकिस्तानलगायतका देशहरुको सांस्कृतिक कार्यक्रम हुने सहसंयोजक भट्टराईले बताए । 

महोत्सवमा दुई हजारभन्दा बढी स्टलहरु रहनेछन् । हस्तकला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, लाइभ कन्सर्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु मुख्य आकर्षकको रुपमा रहने छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले महोत्सवमा प्रस्तृति दिने रेवान पोखराले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस