डेंगी नियन्त्रणका लागि शुक्रबार देशव्यापी सरसफाइ अभियान सञ्चालन हुने

रासस

विहीबार, ०८ कार्तिक २०८१, २१ : २९
डेंगी नियन्त्रणका लागि शुक्रबार देशव्यापी सरसफाइ अभियान सञ्चालन हुने

काठमाडौँ  । सरकारले शुक्रबार देशभरका सबै सरकारी कार्यालयमा डेंगी नियन्त्रणका लागि सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार यो कदम चालेको हो।

सरकारी कार्यालयहरूमा रहेको ग्यारेज, प्रयोगविहीन टायर, सवारी साधन, र अन्य सामग्रीमा जमेको पानी लामखुट्टेको वृद्धि हुने प्रमुख स्रोत मानिएको छ। यसले डेंगी फैलाउने मच्छरको संख्या बढाउने भएकाले यस्तो स्थानहरूको व्यापक सरसफाइ गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको सुझाव थियो।

बैठकले शुक्रबार बिहान १० बजे १० मिनेटको लागि सबै सरकारी कार्यालयहरूले एकसाथ सरसफाइ गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनले भने, “कवाडी सामान र अन्य क्षेत्रमा जमेको पानी हटाउने र सरसफाइ गर्ने कार्य अनिवार्य रूपमा गर्नुपर्छ।”

डेंगी एक प्रकारको भाइरल संक्रमण हो, जसलाई लामखुट्टेले फैलाउँछ। जमेको पानीमा फुल पार्ने लामखुट्टेको प्रजनन रोक्नका लागि विज्ञहरूले पानी जम्न नदिने उपायहरू अवलम्बन गर्न सुझाव दिँदै आएका छन्। यो अभियानले सरकारी कार्यालयहरूमा मात्र होइन, देशभर डेंगी नियन्त्रणमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै यस्तो अभियानको आवश्यकता औँल्याउँदै प्रस्ताव अघि सारेपछि मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस