शिक्षामन्त्री भट्टराईद्वारा १०० दिने उपलब्धी सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, १७ : ०४
शिक्षामन्त्री भट्टराईद्वारा १०० दिने उपलब्धी सार्वजनिक

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालय मातहतका निकायहरूले गरेको नियमित कामलाई नै समेटेर १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन् ।

बिहीबार आफ्नो सय दिने उपलब्धी सार्वजनिक गर्दै मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयले परीक्षामा अंग्रेजी र नेपाली गरी २ भाषामा प्रश्न सोध्ने निर्णयलाई पनि उपलब्धिमा सुनाइन् । त्रिभुवन विश्वविद्यालयले १६ चैत २०८० मा सूचना निकालेर वार्षिक परीक्षाका प्रश्न पत्र नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने निर्णय गरेको थियो । विश्वविद्यालयका विद्यार्थीले लामो समयदेखि उक्त माग राख्दै आएका थिए ।

तर मन्त्री भट्टराईका १०० दिने उपलब्धिमा यसलाई पनि समेटिएको छ । त्यस्तै, कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा फर्म बुझाएर पनि परीक्षा दिन नपाएका विद्यार्थीको रकम फिर्ता गरेको पनि आफ्नो उपलब्धी मन्त्रालयले मानेको छ ।

आयोगले यो वर्षदेखि कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फर्म भर्ने सुविधा दिएको छ । सोहीअनुसार नतिजा नआउँदै आयोगले लिने प्रवेश परीक्षाका लागि फर्म भरे पनि नन ग्रेड आएका कारण अयोग्य भएका विद्यार्थीको परीक्षा दस्तुर फिर्ता गरिएको थियो ।

मन्त्री भट्टराईले आयोग र त्रिभुवन विश्वविद्यालयले गरेको काम भए पनि उक्त निर्णयका लागि मन्त्रालयको प्रत्यक्ष भूमिका खेलेकाले उपलब्धिमा राखेको पत्रकार सम्मेलनमै प्रष्टीकरण दिइन् । ‘मैले यसलाई किन उपलब्धिमा राखेँ भने यो आम रूपमा यो विषय उठेको थियो । यो दुइटा विषय जुन चिकित्सा शिक्षा आयोग र त्रिभुवन विश्वविद्यालयको जुन निर्णय छ, मन्त्रालयको प्रत्यक्ष भूमिका जोडिएका कारण हाम्रो उपलब्धी भित्र यसलाई राखेका छौँ’, उनले भनिन् ।

त्यस्तै, मन्त्रालयले कार्यकालको १०० दिने समयावधिमै अनलाइनमार्फत समकक्षता प्रमाणपत्र लिने समय घटाएको पनि बताएको छ । पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरिने समकक्षताको प्रमाणपत्र अनलाइन आवेदन पेस गरेपश्चात लाग्ने १५ दिनको घटाएर ५ मा राखिएको छ । ‘यो व्यवस्था यही समयावधिभित्र गरिएको छ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस