नेपालीको औषत आयु बढ्यो

पत्रपत्रिकाबाट

बुधबार, २५ मंसिर २०७६, ०७ : ०५
नेपालीको औषत आयु बढ्यो

काठमाडौं । मानव विकास सूचकांकमा नेपाल १४७औं स्थानमा आउन सफल भएको छ । नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष नेपाल १ सय ४९औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १ सय ४८औं स्थानमा रहेको थियो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले मंगलबार सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ ले नेपालले बर्सेनि आफ्नो अवस्था सुधार गर्दै लगेको आंैल्याएको छ । प्रतिवेदनअनुसार नेपालको स्थिति अफ्रिकी मुलुक केन्याको समान रहेको छ ।

नेपालले सन् १९९० देखि २०१८ सम्म औसत भ्यालु क्रमशः वृद्धि गरिरहेको छ । खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसत आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ । यसमा मुलुकले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ । शिक्षा, स्वास्थ्य एंव रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले औंल्याएको छ ।

मानव विकास सूचकांकका आधारमा नेपाल मध्यमस्तरको देशका रूपमा रहेको छ । प्रतिवेदनमा विश्वभरका देशलाई १ सय ८९ स्थानसम्म वर्गीकरण गरिएको छ । त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ । सूचीअनुसार १ सय ५३औं स्थानसम्म रहेका मुलुकलाई मध्यमस्तर मानिएको छ भने त्योभन्दा तल रहेका मुलुक कमजोर मानव विकास भएका छन् । १ सय ५३औं स्थानमा सोलोमन आइल्यान्ड रहेको छ । मानव विकास सूचकांकमा सबैभन्दा अग्रस्थानमा भने नर्वे रहेको छ । स्वीट्जरल्यान्ड, आयरल्यान्ड, जर्मनी, हङकङ, अस्ट्रेलिया, आइसल्यान्ड, स्विडेन र सिंगापुर पहिलो १० नम्बरमा रहेका छन् ।

नेपालको मानव विकास सूचकांक मूल्य २०१८ का लागि ०.५७९ रहेको छ । यस मूल्यले मध्यम मानव विकास सूचकांक श्रेणीमा राखिदिएको छ । प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचकांक औसतमा ०.५२ प्रतिशतले बढेको छ । नेपालको मानव विकास सूचकांक मूल्य सन् १९९० देखि २०१८ सम्ममा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात् औसत ०.५२६ ले वृद्धि भएको छ । सन् १९९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ । विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले वृद्धि भएको छ भने विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । नेपालको औसत आयु अहिले ७०.५ वर्ष पुगेको छ ।
यूएनडीपीले अति उच्च मानव विकास सूचकांक, उच्च मानव विकास सूचकांक, मध्यम मानव विकास सूचकांक र न्यून मानव विकास सूचकांकमा विभाजन गरेको छ । त्यसमध्ये नेपाल भने मध्यम मानव विकास सूचकांकमा समावेश छ ।

बहुआयामिक गरिबी सूचकांक र मानव विकास सूचकांक सन् २०१० देखि सुरु भएको हो । त्यसमा स्वास्थ्य, शिक्षा र जीवनस्तर समेटिन्छ । स्वास्थ्य र शिक्षाका आयाम दुई/दुई सूचकमा आधारित हुन्छन् भने जीवनस्तरमा ६ आयाम रहन्छन् । नेपालमा ३४ प्रतिशत जनसंख्या बहुआयामिक गरिब छन् भने २२.३ प्रतिशत जनता बहुआयामिक गरिबीप्रति संवेदनशील भनेर वर्गीकरण गरिएको छ । नेपालमा अभावको आयातन ४३.६ प्रतिशत छ जो बहुआयामिक गरिबीमा रहेका व्यक्तिले अनुभूत गरेको औसत अभाव अंक रहेको यूएनडीपीको प्रतिवेदनमा उल्लेख छ । प्रतिदिन १.९० अमेरिकी डलर क्रय शक्ति अनुपातभन्दा न्यून अवस्थामा जीवनयापन गरिरहेका जनसंख्यालाई बहुआयामिक गरिबीका रूपमा लिइन्छ । आय गरिबीको रेखाभन्दा माथि रहेका जनसंख्याले स्वास्थ्य, शिक्षा र जीवनस्तरमा अभाव सामना गर्न पुगेका छन् ।राजधानी दैनिकमा खबर छ । 

 

प्रतिक्रिया दिनुहोस