बृद्धभत्ताजस्तै बालबालिकाका लागि पनि नयाँ योजना ल्याइनेछः प्रचण्ड

बुधबार, २४ माघ २०७४, १९ : १५
बृद्धभत्ताजस्तै बालबालिकाका लागि पनि नयाँ योजना ल्याइनेछः प्रचण्ड

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यले बालबालिकाको दायित्वलाई आत्मसात गरेको अनुभूति दिने निर्णय गर्ने पक्षमा आफु रहेको स्पष्ट पारेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बालसञ्चार केन्द्र र बालमैत्री नेपालको प्रतिनिधि मण्डलसँगको कुराकानीका क्रममा अध्यक्ष दाहालले बालबालिबाको सर्वाङ्गिण विकासका लागि दीर्घकालीन महत्व राख्ने निर्णय गर्ने पक्षमा आफु रहेको बताएका हुन् ।

बृद्ध–बृद्धाको लागि भत्ता भनेर राज्यले उनीहरुलाई संरक्षण गर्ने पद्धतिको सुरुवात गरिसकेको उल्लेख गर्दै उनले बालबालिकाको क्षेत्रमा पनि त्यस्तै दीर्घकालिन महत्वको निर्णय गर्नुपर्ने आवश्यकता औंल्याए । अबका सबै बालबालिकाकाले सरकारको कदमलाई सम्झी राख्ने गरि केन्द्रीत र दीर्घकालिन महत्वको निर्णय गर्ने मनस्थितिमा आफु रहेको भन्दै उनले उपयुक्त राय सुझाउन पनि आग्रह गरे ।

बालसञ्चार केन्द्र र बालमैत्री नेपालले बालमैत्री राष्ट्र निर्माणको अभियानलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा कार्यान्वयन गर्न गराउन माग गर्दै प्रमुख दलका शीर्ष नेतालाई भेटी ध्यानाकर्षणपत्र बुझाउदै आएका छन् । ती संस्थाले राष्ट्रिय बालअधिकार आयोगको गठन गर्न तथा बालबालिका मन्त्रालय यथावत राख्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस