- उषा शेरचन
कहालीलाग्दो साँझमा
झमझम मृत्युको नशा
ब्रान्डी .......!
ह्विस्की .....!!
रम...........!!!
स्लो-प्वाइजन ...!!!!
झुक्न नसकेको आत्मसम्मान
बोतलबाट खन्याएर
रित्याउन्जेल पनि
धित मर्दैन
चाउमिन
मोमो
चिकनकरी
कटलेट
गिद्धका आँखा पल्टाउँदै
रेष्टुरेन्टभरि
अलिकता नशा
अलिकता हल्ला
अलिकता उच्श्रृङखलता
-मदिराको प्यालाभरि
- गाँजाको सर्कोभरि
-चरेसको धुवाँभरि
मज्जा लाग्दैन झ्याम्मै नलागुन्जेल
तिर्खाएर जिन्दगी प्यालाले मेटाउने
(मात्र एउटा असफल प्रयास)
भत्केर सपनाका महलहरू
चुँडेर रहरका फूलहरू
आजकाल किन किन?
क्याक्टस नै निको लाग्छ
आजकाल किन किन?
उजाड मरुभूमि नै प्यारो लाग्छ
एक घुँट जाममा
एक झट्का मातसँगै
लात मारेर हिँडिरहेछु
सपनाको शहरलाई
कुल्चेर हिँडिरहेछु
सपनाको बगैंचालाई
सलाम गरिरहेछु
कुरुप कुरुप यो जिन्दगीलाई
सलाम गरिरहेछु
कुरुप कुरुप यो भविष्यलाई
आजकाल, म
बिना उदेश्य नै भौतारिइरहन्छु
आजकाल, म
बिना रहर नै फुलिरहन्छु
आहा ! कति सजिलै ढाँटिरहेछु आफैंलाई
आहा ! कति सजिलै भाँचिरहेछु आफैंलाई
यो रेष्टुरेन्टको नशा बोकेर आँखाभरि
यो रेष्टुरेन्टको हल्ला टाँसेर छातीभरि
अनकन्टार भीरबाट सधैंसधैं
आफैंलाई धकेलिरहेको हुन्छु
आफैंलाई मिल्काइरहेको हुन्छु
व्यर्थै देखेछु सपना पनि
मायाको ननिको बाँधमा
व्यर्थै गरेछु रहर पनि
आँखाको ननिको जालमा
भन्न सक्छौ मलाई, सबै
अर्धसिल्ली यो जेलभित्र
भन्नसक्छौ मलाई, सबै
अर्धपागल यो नेलभित्र
गुम्सेर उम्कन पनि सक्दिनँ
सम्झेर बिर्सन पनि सक्दिनँ
निर्वासित भएर आफैंबाट
म सिर्फ भीर-भीर खोजिरहेछु !
म सिर्फ मृत्यु-मृत्यु पर्खिरहेछु !!
प्रतिक्रिया दिनुहोस