केही युवतीहरू सामान्य एउटा हठलाई
रबरझैं तनक्क तन्क्याएर
बिताइ दिन्छन् आफ्नो बाँकी जीवन ।
आँखा र कानहरू रातो पार्दै
यसरी नछोड्नलाई हठ गर्दै
अडिरहन्छन् जब
निकै सुन्दर देखिन्छन् केही युवतीहरू ।
केही युवतीहरू पग्लिएर बगिजान्छन्
केही फुटकर मायाको उष्णतामा ।
र केही युवतीहरू कम्मरमा लुगा घुसारेर
सिधै आएर उभिदिन्छन्
बुलडोजरको अगाडि ।
केही युवतीहरूलाई देख्दा लाग्छ
यिनकै काखमा शिर राखेर
मरेर जान सकिन्छ परम शान्तिले ।
केही युवतीहरू आफू भित्रैबाट
खुल्छन् स्वतः फूलका पत्रहरुझैं
पुरुष होइन, रुखहरूसित नै
बिहे गरिहाल्छन् केही युवतीहरू ।
केही युवतीहरू कविता बन्छन् त केही किंवदन्ती
केही युवतीहरू घर फर्किन पाउँदैनन्
मध्याह्नको अँध्यारोमा हराइजान्छन् ।
शहरको सबैभन्दा भीडले भरिएको सडकमा
सर्वाङ्ग निर्वस्त्र उभिएर
केही युवतीहरू हल्लाइदिन्छन् शासनतन्त्रलाई ।
कहिले हावालाई त
कहिले पानीलाई
पिट्दै-पिट्दै बितिजान्छन् केही युवतीहरू ।
बारुद बनेर, धुवाँ बनेर
सल्किरहन्छन् केही युवतीहरू
यसरी हुँदा हुँदै केही युवतीहरू
स्वयं नै विस्फोट भइजान्छन् बम बनेर ।
हाँसोको मालालाई फूलझैं
ईश्वरको अनुहारमा फाल्दै रजस्वला हुँदा पनि
केही युवतीहरू बलजफ्ती पस्छन् मन्दिरभित्र ।
केही युवतीहरू हुन्छन् सारै जिद्दी, केही धेरै अभिमानी
केही युवतीहरूका मनभित्र
चुपचाप बगिरहन्छ
दुःखको एउटा गोप्य नदी ।
केही युवतीहरू सधैं झगडा गरिरहन्छन्
आफ्नो शरीरसित, ऐनासित
र केही युवतीहरू हुन्छन् सघन जंगलको अपार रहस्य ।
केही युवतीहरू छातीभित्रको तरल सुस्केरा
र केही जीवनभरिको पश्चाताप ।
केही युवतीहरू एकदम बिजुली हुन्छन्
जहाँ खस्छन्, त्यहाँ थुप्रै वर्षसम्म फेरि
उम्रिन पाउँदैन
दूबोको एउटा झुप्पो पनि ।
(अनुवाद : चन्द्र गुरुङ)
प्रतिक्रिया दिनुहोस