राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु

सोमबार, २२ माघ २०७४, १० : ००
राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।
मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन/प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगले स्पष्ट पारेको छ ।

निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट भने नभएको निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा पालना गर्नुपर्ने नियम
- निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने ।
- मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न  नहुने ।
- मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र      प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
- एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने ।

प्रतिक्रिया दिनुहोस