क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ माडीद्वारा सहयोग

सफल खबर संवाददाता

आइतबार, २६ साउन २०७६, १९ : १४
क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ माडीद्वारा सहयोग

चितवन । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ उद्योग बाणिज्य संघ, माडीले १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गर्नेभएको छ । रंगशाला निर्माण सहयोगका लागि माडीको बसन्तपुरमा सञ्चालित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य संघ, माडीका अध्यक्ष रेशमलाल आचार्य (तुलसी)ले सो घोषणा गर्नुभएको हो ।

माडी नगरपालिकाद्वारा माडीको बसन्तपुरमा आयोजित रंगशाला निर्माण सहयोग सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतोसंगै जिल्ला समन्वय समिति चितवन, उद्योग बाणिज्य संघ माडी र माडीका विभिन्न निकाय एवं संघसंस्थाहरुका पदाधिकारी एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आधा महिनाको तलब प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

रंगशालाको निर्माण सहयोगार्थ माडी नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख ढकालले सो घोषणा गर्नुभएको हो । त्यसैगरी उहाँले आफ्ना जीवनसंगिनी गंगादेवी ढकालका तर्फबाट रु ५ हजार सहयोगस्वरुप उपलब्ध गराउने पनि जानकारी गराउनुभयो । धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरीमा निर्माण गरेको नमुना बस्तीको सिको गर्दैै माडीमा समेत नमुना बस्ती बनाउन थालिएको उहाँको भनाई थियो । माडीको प्याउली तथा अन्य ठाउँहरुमा बिपन्न दलित, आदिवासी र चेपाङ समुदायका लागि आउँदो ३ बर्ष्भित्रमा करीब २०० वटा वटा घर बनाउने कार्ययोजना रहेको उहाँले जनाउनुभयो ।

यसैबिच, सोही कार्यक्रममा नगरप्रमुख ढकालकै संयोजकत्वमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सहयोग समिति माडी गठन भएको छ । समितिका सदस्यहरुमा माडीका सबै वडाका वडाध्यक्षहरुसंगै कार्यपालिका सदस्यहरु, माडीमा क्रियाशील राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग बाणिज्य संघ, च्याम्बर अफ कमर्श र उद्योग संघ माडीका पदाधिकारीहरु, शिक्षण संस्था, कृषि समूह तथा सहकारीका प्रतिनिधीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस