काठमाडौं । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम चलाउँदै आएका मनोज पाण्डेको थप अर्काे धन्दा खुलेको छ । सिंहदरबारभित्रै डकुमेन्ट्रीका नाममा चर्काे चन्दा आतंक मञ्चाउँदै आएका पाण्डेले अहिले प्रधानमन्त्री केपी ओलीको तस्वीरहरु अंकित पुस्तक बजारमा ल्याउन लागेका छन् । यसको आजै प्रधानमन्त्री ओलीकै हातबाट उनले विमोचन गराउँदैछन् ।
राजधानीको कालिमाटी सोल्टीमोडस्थित पाँचतारे होटल सोल्टी होटेलमा उनले एक भब्य कार्यक्रमका साथ प्रधानमन्त्रीको तस्वीर अंकित पुस्तकको विमोचन गराउन लागेका हुन् । यो पुस्तक प्रकाशनका लागि पनि उनले ब्यापारीहरुसँग ठूलै रकम उठाएको चर्चा अहिले प्रधानमन्त्रीकै निजि सचिवालय समेतमा हुन थालेको छ ।
त्यसो त उनको नीजि कम्पनीले सञ्चालन गदै आएको जनतासँग प्रधानमन्त्री कार्यक्रमको आजै वर्ष दिन पुगेको छ । वर्ष दिन पुगेको अवसर पारेर उनले सोल्टीमा भब्य भोज सहितको कार्यक्रम गर्न लागेका हुन् । कार्यक्रमका लागि करिव ५ सय आसपासमा मान्छेहरुलाई आज साझ सोल्टी होटलमा निम्ताइएको छ ।
यस अगाडी कार्यक्रम शुरु गर्ने बेलामा पनि उनले सोल्टी होटलमै कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको खर्च ब्यवस्थापन उनले प्रधानमन्त्री ओलीलाई नै भजाएर विभिन्न ब्यापारिक समुहबाट गराउन लगाएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीलाई महिमागानमा लिप्त बनाउने, आफ्नै नातेदार मामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कतिपय ब्यापारीहरुसँग फोन नै समेत गराउन लगाउने र आफु र आफनो नीजि कम्पनीको लाभका लागि गोरखधन्दा चलाउने काममा अहिले पाण्डे लागेका छन् ।
पाण्डेले जनतासँग प्रधानमन्त्री कार्यक्रमलाई देखाएरै सिंहदरवारका हरेक जसो मन्त्रालयमा चन्दा आंतक नै मच्चाएको समाचार ' सिंहदरबारभित्रै मनोज पाण्डेको ‘चन्दा’ आतंक ! ' गत हप्तामात्रै पनि सफलखबरले लेखेको थियो ।
न्यूनतम पारिश्रमिक पनि दिदैनन्
सरकारले श्रमजीवि पत्रकारको पारिश्रमिक २४ हजार ५ सय तोकेको छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त पारिश्रमिक नदिने सञ्चार सस्थालाई कारवाही गर्ने, सूचना विभागको पास समेत नदिने गरी कडाई गरिरहेका छन् । तर सरकारकै कार्यक्रमको प्रचार र प्रभावकारी सञ्चार गराउन र जनतासँग सरकारलाई जोड्नका लागि सञ्चालनमा आएको जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाउँदै आएका पाण्डेले भने आफ्नै कार्यक्रम तयार पार्ने टिमका कतिपयलाई न्यूनतम पारिश्रमिक समेत नदिएको स्रोतले बताएको छ ।
उनले आफ्नो उक्त कार्यक्रम उत्पादन टिममा रात दिन मेहनत गर्नेहरुलाई न्यून पारिश्रमिकका काम लगाउँदै आएका छन् । जसकाकारण कार्यक्रम उत्पदन गर्न शुरुवातमा खटिएका कतिपय कर्मचारीले उनको साथ छोडेर अहिले अन्यत्र हिडिसकेका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले पाण्डेलाई पहिले देखि नै डकुमेन्टीहरुमा जोडने, आइएनजिओहरुमा जोडाईदिने र मनग्गे पैसा कमाउने बाटोमा लगाएका थिए । रिमाल मजदुर संगठन जिफन्टको अध्यक्ष हुँदा पाण्डेलाई आइएलओसँग जोडाउने काम रिमालले नै गरिदिएका थिए ।
अन्तराष्टिय श्रम संगठन आइएलओको स्पोन्सरमा जिफन्टले महँगो दररेटमा रिमालले पहिले पनि नेपाल टेलिभिजनमा श्रम र सिर्जना कार्यक्रम चलाउन पाण्डेलाई नै दिएका थिए । अनामगनरस्थित युनियन हाउस पूरै भाडामा लिएर पाण्डेले श्रीमतिलाई उक्त कारोवार जिम्मा लगाएका छन भने आफु रिमालसँग जोडिएर सिंहदरबारभित्रैको गोरखधन्दामा लागेका छन् ।
कहाँबाट आयो त्यत्रो पैसा ?
पाण्डेले प्रधानमन्त्रीको तस्वीर अंकित पुस्तक प्रकाशन, सोल्टी होटलमा भब्य भोजसहितको कार्यक्रम देखि करोडौ लगानीमा अनलाइन सञ्चालन गर्नका लागि कहाँबाट पैसा आयो भन्ने अहिले नेकपाभित्र वहस शुरु भएको छ ।
पाण्डेकै ब्यवस्थापनमा अहिले दरवारमार्गबाट रामेश्वर बोहोरालाई सम्पादक बनाएर नयाँ अनलाइन सञ्चालनमा आउँदैछ । सिधै प्रधानमन्त्रीलाई देखाउने र प्रत्यक्ष रुपमा प्रमुख सल्लाहकार रिमाल र पाण्डे जोडिएर उक्त अनलाइन आउन लागेको हो । आजैबाट उक्त अनलाइनमा जोडिन चाहेका पत्रकारहरुले दरवारमार्गबाट काम समेत शुरु गर्न थालेका छन् ।
महँगा होटलमा कार्यक्रम गर्ने देखि करोडौंको लगानीमा अनलाइन समेत सञ्चालनमा ल्याउनका लागि यो टोलीले ब्यापारी दिपक मल्होत्रासँग पनि डिल गरेको छ । रिमाल र पाण्डेको नयाँ अनलाइनमा मल्होत्राले लगानी गर्ने समेत खुलेको छ । अन्य ब्यापारीहरुलाई पनि रिमाल र पाण्डेले लगानीका लागि दबाब बढाईरहेको स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीलाई देखाएर मनग्गे आम्दानी गर्ने सूरका साथ अहिले रिमाल र पाण्डेले मिलेरै काम गरिरहेको स्रोतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ साउन २०७६, ०९ : ४५
लेखकबाट थप