योग शिक्षालाई विद्यालयसम्म पुर्याउछौ : शिक्षामन्त्री पोखरेल

सोमबार, २३ असार २०७६, १३ : १६
योग शिक्षालाई विद्यालयसम्म पुर्याउछौ : शिक्षामन्त्री पोखरेल

फाइल फोटो

भक्तपुर । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताउनु भएको छ । 
पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले आज यहाँ आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग विषयक बिबिध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 
उहाँले विद्यालयहरुमा योग शिक्षा पुर्याउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताउदै विद्यालय र विद्यार्थी मार्फत योग शिक्षालाई अब गाउँ गाउँसम्म पुर्याईने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो–“अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडिबुटीको पढाई सुरु हुन्छ, यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भईरहेको छ ।”

योगलाई शारीरिक व्यायामको रुपमा मात्रै बुझ्नु गलत भएको चर्चा गर्दै मन्त्री पोखरेलले भन्नुभयो–“मानिसको जीवन पद्धति बदल्न योगलाई बुझ्न र बुझाउन जरुरी रहेको छ, योगको खोज, अनुसन्धान र विस्तारलाई संगै लैजानु पर्छ ।”

  कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), योगका गुरुहरु दीर्घराज गिरी, बालमुकुन्द सुवाल, योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा. हरिप्रसाद पोखरेल, पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले योग र यसको महत्वमाथि चर्चा गर्नुभयो । 
कार्यक्रममा अध्यक्ष सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा. चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपकप्रसाद नेपाल, जानुका भट्टराई लगायतले योग र प्राकृतिक चिकित्साकाबारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरि बृहत छलफल गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस