चितवन । चितवन जिल्लाबाट २०७५ सालको एसईईमा चार जीपीए ल्याउने विद्यार्थीहरुलाई वाल्मीकि शिक्षा सदन भरतपुर–४ ले सम्मान गरेको छ ।
चितवनबाट चार जीपीए ल्याउने ११ जनालाई वाल्मीकि शिक्षा सदनले सम्मान गरेको हो । विद्यालयका प्रिन्सिपल लक्ष्मीकान्त चालिसे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम रेग्मी, भरतपुर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले संयुक्त रुपमा विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो । उनीहरुलाई नगद पाँच हजार र प्रमाणपत्रबाट सम्मान गरिएको हो ।
वाल्मीकि शिक्षा सदनले चार जीपीए ल्याएका स्काइराइडर आमावि रत्नननगरका विशाल पौडेल र हिमाल रानाभाट, एन्जल्र्स वल्र्ड ईं स्कुल रत्ननगरका होमनाथ पौडेल र साजेस रेग्मी, वाल्मीकि शिक्षा सदनका सुप्रिमा दाहाल, सुभास कँडेल र आयुसा सापकोटा, न्यू भिजन एकेडेमी शारदानगरका दिनानाथ उपाध्याय, एसओएस हर्मन माइनर विद्यालयका, शिक्षा पौडेल, एकता शिशु निकेतन रत्ननगरका आशिष पौडेल र प्रेरणा ईं स्कुलका इशान भण्डारीलाई सम्मान गरिएको हो ।
वाल्मीकि शिक्षा सदनका गोकर्ण निवास त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुका अभिभावकलाई समेत सम्मान गरिएको संस्थापक प्रिन्सिपल देशबन्धु अधिकारीले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा सहप्राचार्य दुर्गाप्रसाद घिमिरे, गणित शिक्षक प्रकास सुवेदी, कक्षा ११ र १२ का संयोजक प्रदीप पौडेललगायतले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका थिए ।
वाल्मीकि यहाँसम्म कसरी ?
वाल्मीकि शिक्षा सदन २०५३ सालमा स्थापना भएको हो । अनुभव व्यक्तिहरुको पहलमा खोलिएको यस विद्यालयले २०५७ सालबाट एसएलसीमा सहभागी हुुँदै आएको छ । २०७१ बाट वाल्मीकि शिक्षा सदनले कक्षा ११ को विज्ञान संकायको कक्षा सुरु गरेको थियो । ‘स्थापनाको समयमा धेरै मिहिनेत गरेर अहिले यहाँसम्म आइपुगेका हौँ’ संस्थापक प्रिन्सिपल देशबन्धु अधिकारीले भन्नुभयो, ‘वर्सेनि प्लस ट, एसईईमा वाल्मीकिले जिल्लामात्र होइन, देशमै उत्कृष्ट नतिजा ल्याइरहेको छ ।’
विद्यालयका अनुसार २०५७ को एसएलसीमा रविन्द्रनिवास त्रिपाठी नेपाल बोर्ड दसौँ स्थान भएका थिए । २०६१ को एसएलसीमा दीपा शर्मा, उषा देवकोटा, कामना चालिसे जिल्ला प्रथम, द्वितीय र तृतीय भएका थिए । २०६३ मा प्रतिभा सापकोटा जिल्ला प्रथम र २०६५ मा सृष्टि सापकोटा जिल्ला प्रथम भएकी थिइन् ।
२०७१ मा हरि सेढाईं कक्षा ११ मा विज्ञान संकायमा नेपाल प्रथम भएका विद्यालयको दावी छ । २०७२ मा सृष्टि तिवारी कक्षा ११ मा व्यवस्थापन संकायमा नेपाल प्रथम भएकी थिइन् । २०७५ मा विवेक श्रेष्ठ कक्षा ११ मा विज्ञान संकायमा जिल्ला प्रथम र स्वीकृति सुवेदी कक्षा १२ को व्यवस्थापन संकायमा जिल्ला द्वितीय भएकी थिइन् ।
विद्यालयमा ३३ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०७६, ११ : ३९
लेखकबाट थप