आगामी चैत्रमा कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुँदै

शुक्रबार, १२ माघ २०७४, १५ : १८
आगामी चैत्रमा कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत्र ७ र ८ गते नुवाकोटमा हुने भएको छ । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले उक्त राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको हो । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको ८ औं पुण्यतिथि (स्मृति दिवस) को अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा देशका सबै जिल्ला कार्य समितिका कोषाध्यक्षहरुको उपस्थिति रहने पनि समितिले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष गोविन्द पुडासैनीले हालै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका जनप्रिय निर्णयहरुको एमालेले विरोध गर्नुको कुनै तुक नभएको स्पष्ट पारे । उनले भने,‘वर्तमान सरकारले जनताको हितमा निर्णय गरेको छ, तर अहिले एमालेले बखेडा झिकेर विरोध गर्नुको कुनै औचित्य छैन ।’

अध्यक्ष पुडासैनीले अघि भने, ‘त्यतिवेला एमालेको ९ महिने अल्पमतको सरकारको पालामा बृद्धभत्ता दिने निर्णय हुँदा हामीले कुनै विरोध गरेनौं, बरु उल्टै उक्त निर्णयको खुलेर स्वागत गरेका थियौं, तर अहिले हाम्रो पार्टी नेतृत्वको सरकारले ६५ वर्ष पुगेकाहरुलाई बृद्धभत्ता दिने निर्णय गर्दा एमालेलाई केको टाउको दुखाई ? हामीले बुझ्न नसकेको यो कुरा ? यो त अचम्म नै भयो नि ।’

पुडासैनीले अहिलेपनि कुनै एक पार्टीले बहुमत प्राप्त नगरेकोले कसको नेतृत्वमा सरकार बन्ने कुरा अहिले नै भन्न नसकिने पनि स्पष्ट पारे । उनले भने,‘अहिले केपी ओलीले तुरुन्त आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्छ भन्ने अभिव्यक्ति दिएर वर्तमान सरकारले गरेका महत्वपूर्ण निर्णयहरुको विरुद्धमा बोल्नु उचित छैन, कसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन ।’ यसअघि २०७३ पुस ११ र १२ गते सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्तीमा कांग्रेस जिल्ला कोषाध्यक्षहरुको पहिलो राष्ट्रिय सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस