काठमाडौं । ललितपुरको बागमती–२, माल्टाका ११ वर्षीय समिर लुङ्वाको शवमुनि ढुंगाले थिचेर राखिएको कागजको चिट फेला परेको थियो ।
चिटमा लेखिएको थियो, ‘आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैनन् । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजूले हेला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछु । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु ।’
समिरको यो चिटले सबैलाई एक पटक सोच्न गम्भीर बनाएको छ । कति सानो कुरामा बालक आत्महत्या गर्न पुग्छन् । कलिलो बालकको ‘सुसाइड नोट’ मा लेखिएको विवरण पढ्दा जो कोहीलाई विश्वास गर्न गाह्रो भएको थियो, तर सत्य यही थियो । आफूलाई हेलाको महसुस भएपछि बालक समिरले आत्महत्या गरे ।
अहिले महानगरीय प्रहरी वृत्त, चापागाउँ लुङ्वाको आत्महत्याको कारण खोतल्नतिर लागेको छ । उनले हेला गर्ने दाजु भाउजूदेखि शिक्षकसँग प्रहरीले सोधपुछ गर्ने भएको छ । आत्महत्या गर्न बाध्य पार्ने वा प्रोत्साहित गर्ने जोकोही कारबाहीको दायरामा ल्याउने प्रहरीको भनाइ छ ।
मुलुकी अपराध संहिताले आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरेको छ । त्यसैले कारणको खोजी थालिएको हो । तर, हालसम्म प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन । पाटन हस्पिटलका चिकित्सकले गरेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले भने उनको झुण्डिएकै कारण मृत्यु भएको देखाएको छ ।
२८ जेठमा धादिङको ज्वालामुखी गाउँपालिकामा १३ वर्षीय बालकले पनि लुङ्वाकै शैलीमा देहत्याग गरेका थिए ।
विद्यालयबाट घर फर्किने क्रममा सुनिल परियारले बुबाआमाबाट माया नपाएको उल्लेख गर्दै ‘स्कुल ड्रेस’कै पासोमा झुण्डिएका थिए । स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै गरेका उनले भाइलाई सम्बोधन गरेर सुसाइड नोटमा लेखेका थिए, ‘भाइ तिमीलाई बुबाआमाले माया गर्नुहुन्छ, मलाई माया गर्नुहुन्न र पिट्नुहुन्छ । त्यसैले तिमी बुबाआमासँगै बस्नु, म मर्छु ।’
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख राजकुमार वैदवारका अनुसार प्रारम्भिक अनुसन्धानमा सुसाइड नोट र सुनिलको अक्षरको परीक्षण रिपोर्ट मिलेको छ ।यी माथिका दुई उदाहरणमात्र हुन् । पछिल्लो समय बालबालिकाको आत्महत्या दर बढेको छ । सानो कुरामा उनीहरुले आत्महत्यालाई अँगालेका छन् ।नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल बालबालिकाले आत्महत्या गरेको घटनाका पछाडि सामान्य किसिमका कारणहरु देखिने गरेको बताउँछन् ।
‘बालबालिकाले भौतिक सुविधा होइन, आमाबाबुको सामिप्यता र स्नेह खोजिरहेका छन्’, डीआईजी पोखरेलले भने, ‘तर, हाम्रो समाज त्यसमा चुकिरहेको छ ।’ विदेश बसेर सन्तानलाई खुसी दिइरहेको सोच्ने गरिए पनि सन्तानप्रति सिर्जना भइरहेको वितृष्णाबारे अभिभावक बेखबर रहनु घातकसिद्ध भएको उनी बताउँछन् ।
दाजुभाइ मध्ये एकजनाले अभिभावकबाट कम माया पाएको उल्लेख गर्दै आत्महत्या गरेको घटना प्रशस्तै रहेको बताउँदै उनले भने, ‘परिवारमा बालबालिकासँग कुराकानी र छलफल नै हुन छाडिसक्यो ।’
कुनै पनि कुरामा तुलना गर्ने बाल मनोविज्ञान नै भएको उल्लेख गर्दै उनले भने, ‘कतिपय अवस्थामा टेलिभिजन र इन्टरनेटमा देखाइने दृश्य सामग्रीले पनि नकारात्मक असर पार्दै गएको छ ।’
उनका अनुसार विभिन्न टेलिचलचित्र र चलचित्रले आत्महत्या गर्न सिकाएको मात्र छैन, त्यहाँ देखाइने व्यवहार र सम्बन्धको पक्षलाई बालबालिकाले वास्तविक जीवनमा पनि खोजी गरिरहेका छन् । जसले गम्भिर समस्या निम्त्याइरहेको उनी बताउँछन् । उनका अनुसार फेसबुक, इन्स्टाग्राम जस्ता सोसियल नेटवर्कमा छोराछोरीले के गर्दैछन् भनेर निगरानी गर्ने बानी हाम्रो छैन ।’
आत्महत्या गर्नेले हरेक समस्याको अन्त्य आत्महत्या हो भन्ने ठान्छन् । तर, यो समस्याको होइन, जीवनको अन्त्य मात्र हो ।‘अहिले अधिकांश एकल परिवारमा बस्छन् । तर, अभिभावकलाई छोराछोरीसँग बोल्ने फुर्सद हुँदैन’, प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले भने, ‘विद्यालयमा पनि नैतिक शिक्षाको कमी देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ असार २०७६, १३ : ०६
लेखकबाट थप